म्यानचेस्टर सिटी र टोटनह्यामको सहज जित

एजेन्सी,मंसिर ३०-म्यानचेस्टर सिटी र टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेका छन् । लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वाट्फोर्डलाई २–० ले हरायो । सिटीको जितमा जाबालेटा र डेविड सिल्भाले गोल गरे ।

३३ औं मिनेटमा जाबालेटाले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । खेलको अन्तिम चार मिनेट बाँकी हुँदा सिल्भाले गोल गरेपछि सिटीको २–० को जित सुनिश्चित भयो । चौथो स्थानको सिटीको १६ खेलबाट ३३ अंक छ । २१ अंकसहित वाट्फोर्ड ११ औं स्थानमा छ । यस्तै हल सिटीलाई ३–० ले हराएको टोटनह्याम ३० अंकसहित पाँचौं स्थानमा छ ।

टोटनह्यामको जितमा क्रिष्टियन एरिक्सनले दुई तथा विक्टर वानयामाले एक गोल गरे । एरिक्सले १४ औं मिनेटमा गोल गर्दै टोटनह्यामलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ६३ औं मिनेटमा एरिक्सनले व्यक्तिगत दोस्रो गोल गरेपछि अग्रता दोब्बर भयो । ७३ औं मिनेटमा वानयामाले गोल गर्दै टोटनह्यामलाई ३–० को जित दिलाए । हारपछि १२ अंकसहित हल सिटी १९ औं स्थानमा छ ।