मोटरसाइकलमा भेटियो १० किलो सुन


काठमाडौं,मंसिर १९-नियमित सुरक्षा गस्तीका क्रममा शुक्रबार राती प्रहरीले मोटरसाइकलमा लुकाईराखेको १० किलो सुन फेलापारेको छ । अवैध रुपमा विक्रीका लागि ल्याईएको सुनसहित पक्राउ पर्ने डरले अभियुक्त मोटरसाइकल छाडेर फरार भएको प्रहरी दावी छ ।

महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरी टोली वौद्ध फुलबारी पुग्दा टाढैबाट मोटरसाइकलमा आएका दुई जना व्यक्ति भागेका थिए । सुरुमा चोरीको मोटरसाइकल हुनसक्ने आशंका गरेको प्रहरीले कार्याल्याएर पाटपूर्जा खोलेर हेर्दा एयरफिल्टर राख्ने स्थानमा १० वटा विस्कुट आकारको सुन देखेपछि प्रहरी झस्किएको थियो ।

बरामद सुनको मूल्य करिब पाँच करोड रुपैंया बराबरको हो । मोटरसाइकलको साईलेन्सरबाट निस्कने आवाजलाई नियन्त्रित गर्न एयरफिल्टरको प्रयोग हुन्छ । व्यवारिसे फेला परेको मोटरसाइकलको सामान्य भन्दा ठूलो आएपछि प्रहरीले एयरफिल्टर राख्ने बक्स खोलेर हेरेको थियो । शनिबार सार्वजनिक विदाको दिन परेकाले बा ५५ प १७७२ नम्बरको उक्त मोटरसाइकल कस्को नाममा दर्ता भएको बारे प्रहरीले आईतबारमात्रै पत्ता लगाउने जानकारी वृत्तका प्रमुख विपिन रेग्मीले दिए ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार नेपालमा दैनिक ३५ देखि ४० किलो सुनको खपत हुँदै आएको छ । राष्ट्र बैंकले १६ वटा बाणिज्य बैंकमार्फत दैनिक १५ किलो सुन बजार पठाउछ । यो तथ्यांकले पनि के देखाउँछ भने २५ किलो सुन अवैध तवरबाट बजारमा पुगिरहेको छ ।

प्रहरी अनुसन्धान अनुसार सुन तस्करीको चल्तीको नाका सिन्धुपाल्चोकको खासा नै हो । खासाबाट राजधानी सुन भित्र्याउने क्रममा पटकपटक समातिएका कारोबारीले प्रहरीलाई बयान दिए अनुसार चीनसँग सीमा जोडिएका गोरखा, ताप्लेजुङ र रसुवाको रुट विकल्पका रूपमा प्रयोग गर्न थालेका छन् । शुक्रबार प्रहरीले बरामद गरेको सुन सिन्धुपाल्चोकको खासाहुँदै आएको अनुमान प्रहरीको छ । प्रहरी अनुसन्धान अनुसार नेपालमा दुवई, हङकङ र चीनबाट सुन तस्करी हुँदै आएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनाल भन्छन्,' सुन भित्रिने नाका र केन्द्रबीच समन्वय अभावका कारण सुन तस्करी रोकिएको छैन, यसकालागि बलियो सुचना संयन्त्रको खाँचो छ ।' उनका अनुसार जतिपनि पक्राउ परेका छन् ति सबै भरिया मात्रै हुन् । अवैध सुनका कारोबारीले ठूलो चुनौति मोलेर सुन तस्करीका लागि भरिया परिचालन गर्छन् ।'

छिमेकी मुलुकसँग जोडिएको नेपाली नाका, त्यहाँ रहेका भन्सार कार्यालय, राजश्व अनुसन्धान विभाग र प्रहरीबीच समन्वयमा काम हुने हो भने सुन तस्करी नियन्त्रण गर्न कुनै ठूलो कुरा छैन,' महाशाखाका एक प्रहरी अधिकृतले भने,' सुन अब आर्थिक अपराध मात्रै रहेन यो संगठीत अपराध हो, धरौटी बुझाएर छाडिने कानुन संसोधन हुनु जरुरी छ ।'

प्रहरी प्रधान कार्यालय अनुसार विगत तीन वर्ष यता सुन तस्करीको आरोपमा एक सय ४५ जना पक्राउ परेका छन् । जसमध्ये भारतीय ५२ र चिनियाँ १० जना छन् । यसले पनि के देखाउँछ भने चीन र भारतका तस्करीको मिलेमतोमा नेपाल तस्करीको रुटमा प्रयोग हुँदै आएका छन् । हङकङ, दुवईका तस्करले चीनका तस्करसँगको समन्वयमा नेपाली नाकामा सुन पुर्‌याउने बन्दोवस्ती गर्ने र त्यहाँका कारोबारीले राजधानीसम्म सुन तस्करी गर्ने गरेको प्रहरीको हालसम्मको अनुसन्धानले देखाएको छ । तर सूचना विना प्रहरीले तस्करीको सुन समात्न सक्दैन ।