सिएनएन सुपर हिरो बन्दा…


 सपनाजस्तै त्यो क्षण
काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर कलेजले ‘सोसल सर्भिसेस’ विषयका विद्यार्थीलाई अध्ययन भ्रमणका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा लगेको थियो । आमासँगै कारागारमा रहेकी एउटी बालिका (सानुकान्छी तामाङ)लाई देखेँ । उनलाई देखेपछि मैले आफूलाई सम्झेँ, ‘मेरो पनि अवस्था यस्तै भएको भए !’ मैले धेरै सोचेँ । यसरी जेलमा रहेका बालबच्चाका लागि केही गर्नैपर्छ भन्ने अठोट लिएँ । विभिन्न कारणले जेलमा परेका अभिभावकका छोराछोरीको हेरचाह गर्न प्रारम्भिक बाल विकास केन्द्र खोलेर सन् २००५ देखि काम गर्न थालेँ । दैनिकी बालबच्चाको हेरचाहमा बित्न थाल्यो । मेरा हात बच्चाहरूको कपडा, गृहकार्यदेखि खाना, बिस्तरा र शौचालयसम्म पुगे । बालबच्चा कक्षामा पहिलो, दोस्रो हुँदा र खेलकुद प्रतियोगितामा उपाधि जित्दा काम गर्ने उत्साह बढ्दै गयो ।

त्यही क्रममा एउटा इमेल आयो–‘सिएनएन हिरोबाट तिम्रो स्टोरी गर्नुपर्छ ।’ मैले सोचेँ, ‘कसले गफ हानेर इमेल पठायो ।’ कारागारमा अभिभावकसँग कष्टकर जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई लालनपालन र शिक्षादीक्षा दिएको विषयमा अमेरिकाको अन्तर्राष्ट्रिय टेलिभिजन सेवा ‘केवल न्युज नेटवर्क’ (सिएनएन)ले नेपालमै आएर रिसर्च गर्यो । पुष्पा बस्नेतले वास्तबमा उदाहरणीय काम गरेको हो कि होइन भन्ने विषयमा करिब सात महिनाको रिसर्चपछि सिएनएन टोली अमेरिका गयो ।

मेरो कामका आधारमा सिएनएनले मलाई ‘टप टेन’मा पार्यो । त्यसपछि डेढ महिनाजति भोटिङ भयो । विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणामअनुसार मलाई २०१२ का लागि सिएनएन हिरो घोषणा गरियो । ६ हजार मानिसलाई पछाडि पारेर सिएनएन हिरोको उपाधि जित्छु भन्ने लागेकै थिएन । तर, मैले जिते“ । मेरो लाइफमा त्यो नै सबैभन्दा ठूलो इभेन्ट थियो । तीन हजार अमेरिक डलर पाएपछि म दंगै भएँ । खुसीको सीमै रहेन । त्यो क्षण सपनाजस्तै थियो । यति इमोसनमा आएँ कि आँखाबाट आँसु नै झर्यो ।

हिरोको पनि हिरो
सिएनएन हिरो अवार्ड सुरु भएको दश वर्ष पुगेको अवसरमा पूर्वसिएनएन हिरोमध्येबाट सन् २०१६ मा सुपर हिरो अवार्ड प्रदान गर्ने निर्णय भएछ । सिएनएनबाट फेरि इमेल आयो । ‘१५ मिनेटको स्टोरी गर्ने कुरा भयो । मैले, हुन्छ भनेँ । दसैँको वेलामा आउनुभएको थियो । सुटिङ सकाएर जानुभयो । त्यतिवेलासम्म प्रतिस्पर्धा हुन्छ भन्ने पनि थाहा थिएन । पाँचजना छनोटमा परेकालाई न्युयोर्कमा बोलाउने सूचना थियो । मैले ‘हुन्छ, आइहाल्छु नि भनेँ ।’ म अमेरिका हिँडेपछि फेरि इमेल आयो–तिमीहरूको बीचमा पनि प्रतिस्पर्धा हुँदै छ । तिमीहरूलाई दश–दश हजार दिन्छौँ । जित्नेको नाम त्यही दिन घोषणा हुन्छ ।’ प्रतिबद्धताअनुसार काम गरेका आधारमा पाँचजना (अमेरिकाकी लिज म्याक कार्थी, अमेरिकाकै चाड प्रेग्र्याक, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसियाकी रोविन लिम र म) मनोनयनमा पर्यो । छनोटमा परेका हामी पाँचैजना आ–आफ्नो क्षेत्रमा एकसेएक थियौँ । तथापि, उपाधि मैले नै जितेँ ।

‘मामु जे हुन्छ, राम्रो हुन्छ’

अमेरिकाको न्युयोर्कस्थित नेसनल म्युजियम आर्टमा भएको कार्यक्रम निकै रमाइलो थियो । समारोह चल्दै गर्दा नेपालमा बिहान भएकाले बच्चाहरू उठिसकेका थिए । म उनीहरूसँग फोनमा कुरा गर्दै थिएँ । उनीहरूले ‘मामु जे हुन्छ, राम्रो हुन्छ’ भनेका थिए । मैले भनेँ, ‘तिमीहरूको कामना हो । हामीले गरेको काम हो । पुष्पा बस्नेत एक्लैले मात्र यो सम्भव थिएन र छैन पनि । तिमीहरू छौ र त म छु । तिमीहरूले राम्रो गरेकाले मलाई अगाडि बढ्न हौसला मिल्छ ।’ त्यही क्रममा मेरो नाम घोषणा भयो । बच्चाहरूमा खुसीको सीमा नै रहेन ।

सिएनएन सुपर हिरोमा मेरो नाम घोषणा गर्ने वेलामा थोरै ‘नर्भस’ भएँ । घोषणा भएपछि एकदमै ‘एक्साइटेड’ पनि भएँ । मैले गरेको कामको कदर भएको महसुस गरेँ । ५० हजार अमेरिकी डलर पनि पाएँ । आफ्नो कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएँ। त्यो रकम युथ हुन लागेका मेरा बच्चाका लागि ‘युथ होस्टल’ बनाउन खर्च गर्ने प्रतिबद्धता जनाएँ । उपाधि थाप्दा मेरा बच्चा र बुबालाई झलझली सम्झेँ । मेरो अवार्ड बच्चा र बुबाका लागि समर्पित गरेँ ।

२००५ मा यसरी सिएनएन हिरो हुन्छु भनेर काम सुरु गरेको होइन । उपाधि थाप्दै गर्दा त्यतिवेलाको काम सम्झेँ । काम गर्दै जाने क्रममा आइपरेका समस्या नसम्झने कुरै भएन ।

अपेक्षै–अपेक्षा
अवार्ड जितेपछि ठूलो जिम्मेवारी बोध हुँदो रहेछ । अझै काम गर्ने उत्साह बढेर आउँदो रहेछ । समाजको अपेक्षा पनि ठूलै हुँदो रहेछ । कतिपयले क्यासेट रिलिज गर्न बोलाउँछन्, कतिपयले मसला वा अन्य चिजको उद्घाटन गर्न बोलाउँछन् । म त्यसरी हिँड्ने समय निकाल्न सक्दिनँ । मेरो आफ्नै बाध्यता छ । म त्यसरी उद्घाटन वा चर्चाका लागि मात्र हिडेँ भने मेरा बच्चाहरूले आमाको माया कम पाउन थाल्छन् । हिजो (सिएनएन हिरो हुनुभन्दा पहिले) र आज (सिएनएन सुपर हिरो) भएपछि फरक अनुभूति गर्नेछन् । त्यसकारण चर्चा भएपछि प्लस–माइनस हुँदो रहेछ । सिएनएन हिरो, सुपर हिरो बन्नुभन्दा पहिला जसरी आफ्नो दैनिकी थियो, बच्चाहरूलाई समय दिन्थेँ, अहिले पनि त्यसमा फरक छैन । सिएनएनप्रति भित्रैदेखि नै आभारी छु । पुष्पा बस्नेत हुनु वा नहुनु ठूलो कुरा होइन । तर, मेरो बच्चाको भविष्य राम्रो हुनुपर्छ । मेरो संस्था दीर्घकालीन हुनुपर्छ ।

बुबाको त्यो आँसु
संस्था खोलेर काम सुरु गर्दा परिपक्व भइसकेको थिइनँ । त्यतिवेला निर्णय क्षमता पनि विकास भइसकेको थिएन । तर, अहिले निर्णय लिन सक्ने भएको छु । निर्णय प्रक्रियामा मेरा बच्चालाई पनि सहभागी गराउँदै आएको छु । म एउटाले मात्र निर्णय गरेर हुँदैन, मेरो ब्याकअपमा बच्चा छन् । उनीहरूको सहभागिता र उनीहरूलाई हेरेर निर्णय लिन्छु ।
संस्था खोलेर समाजसेवामा लाग्ने मेरो निर्णयलाई पहिला बुबाआमाले रुचाउनुभएको थिएन । ‘छोरीले गल्ती गरी’ भन्ने उहाँहरूमा थियो । काम गर्दै जाँदा उहाँहरूको सोच गलत प्रमाणित गरेँ ।

म एसएलसी फेल हुँदा मेरो बुबा धेरै रुनुभएको थियो । १२८ जना विद्यार्थीमा म एकजना मात्र फेल हुँदा बुबालाई कस्तो भयो होला ? आफन्तहरूले ‘छोरीलाई राम्रो स्कुलमा खुब पढाएको थिइस् नि ! खुच्चिङ’ भने । आज बुबा कति गौरवका साथ हिँड्नुभएको छ । मेरो बुबाले मलाई फ्रिडम लाइफ दिनुभयो । मैले लिएको निर्णयमा असहमतिका बीचमा पनि सहयोग गर्नुभयो । मेरो बुबा भगवान्जस्तै लाग्छ । छोरी भएर जन्मेकोमा खुसी लाग्छ ।

अवार्ड थापेर आउँदा राति भएको थियो । बुबाआमा यहाँ (संस्था) आइसक्नुभएको रहेछ । मैले मेरो बुबाको आँखामा दोस्रोपटक आँसु देखेँ । एसएलसी फेल हुँदा दुःखको र सिएनएन सुपर हिरो हुँदा खुसीको आँसु । बुबाले ‘चिसो भएर आँखाबाट आँसु आयो’ भन्नुभयो । म मरिमरी हासेँ । मैले बुबालाई जिस्क्याएँ–‘मलाई गाडी किनिदिने होइन ।’ उहाँले ‘किनिदिन्छु’ भन्नुभयो । अब बुबाआमालाई मैले भनेको जे कुरा पनि ठीक लाग्न थाल्यो । मेरो बुबा ६७ वर्ष र आमा ५७ वर्षको हुनुहुन्छ । उहाँहरूलाई म रोल मोडलको रूपमा लिन्छु ।

प्रतिबद्धताबाट विचलित भइनँ
म आफ्नो लक्ष्य र उद्देश्यमा स्पष्ट छु । भिजनमा तलमाथि नगरी अगाडि बढेको छु । संस्था सुरु गर्दा मसँग पैसा थिएन । एउटा कोठाबाट काम सुरु गरेँ । तर, आज हाम्रो संस्था करोडौँको भइसकेको छ । पहिला पाँच–छ ठाउँमा घर सर्दै हिड्नु पर्यो  । घरबेटीको किचकिच साह्रै हुने भएकाले मेरा बच्चाहरूको बस्ने ठाउँ बनाउँछु भन्ने लागेको थियो । मैले ‘बटरफ्लाई होम’ बनाउँछु भनेर चार वर्षअघि भनेको थिएँ । त्यो पूरा गरेँ । अबको पाँच वर्षमा मेरो बच्चा मेरो बोर्डमा आउनुपर्छ । अबको दश वर्षमा दुईवटा शाखा खोल्छु । सिएनएन हिरो र सुपर हिरो भएपछि मान्छेहरूले मलाई रोल मोडलको रूपमा हेर्छन् । एकछिन मात्र होइन, सधैँभरि काम गर्नुपर्छ । पुष्पा बस्नेत मरेर गए पनि यो संस्था रहिरहनुपर्छ । मैले जति दुःख गरेँ, त्यति मेरा बच्चाले गर्नुपर्दैन । तर, मैले दिएको संस्कार (काममा पारदर्शिता, उत्प्रेरणा, मैले गरेको काम ठीक छ) भन्नेचाहिँ हुनुपर्छ ।

सिएनएन सुपर हिरो भएपछि पनि बिहान पाँच बजे उठेर खाना आफैँ पकाउँछु । उपाधि जितेपछि मामु बाहिर मात्र बस्नुहुन्छ, हामीलाई समय दिनुहुन्न भन्ने छाप बच्चामा पर्छ भने नराम्रो हुन्छ । संस्था सुरु गर्दा जसरी काम गरेको थिएँ, आज पनि त्यसरी नै काम गरिरहेको छु । उनीहरूले दुइटा आमा (जन्म दिने र कर्म दिने) देखेका छन् । उनीहरूका लागि म एउटा असल आमा बन्नुपर्छ ।

नेपालीको अपार एकता
परेका वेला हामी नेपाली एकजुट हुन्छौँ । विशेषगरी नेपालीको भोटकै कारण मैले उपाधि (सिएनएन हिरो र सुपर हिरो) जित्न सकेको हुँ । एक नेपालीका लागि अर्को नेपालीले कतिसम्म गर्न सक्छ भन्ने उदाहरण पनि हो यो । तर, राजनीति चाहिँ किन एकताबद्ध हुन सक्दैन भन्ने प्रश्न वेलावेलामा मनमा खेल्छ । नेपालीमा सेवाभाव छ । मैले पनि त्यही गरेको हुँ । म सिएनएन सुपर हिरोभन्दा पनि एउटा राम्रो आमा बन्न चाहन्छु । मेरा बच्चाका लागि रोल मोडल बन्न चाहन्छु । मेरा छोरीहरूले यसो भनून्, ‘भोलि मामुजस्तै बन्न चाहन्छु ।’ छोराहरूले यसो भनून्, ‘मामुजस्तो केटी बिहे गर्छु ।’ बच्चाहरूलाई मेरो जोड जहिले पनि मिहिनेत गर्नुपर्छ भन्नेमै हुन्छ । म भन्ने गर्छु ‘मामु फेल भएर त यस्तो भयो । तिमीहरूले डिस्टिङ्सन ल्याएका छौँ । तिमीहरूले मामुले भन्दा धेरै राम्रो काम गर्नुपर्छ ।’
नयाँ पत्रिकाबाट

,