ओलीले मेरो मुखै हेर्न नचाहेको भन्ने सुनेको छु -प्रचण्ड


काठमाडौं, १८ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुखसमेत हेर्न नचाहेको भन्ने सुनिएको भन्दै त्यो उनको गम्भीर गल्ती भएको टिप्पणी गरेका छन् ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार प्रशारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा प्रचण्डले ओलीको नामै नलिइ भने, ‘संशोधन पास गराउनका प्रतिपक्षी दलका नेताहरुसँग मेरो कुराकानी भइरहेको छ। यद्यपी केहि नेताहरुले मेरो मुखै हेर्नै नचाहने, कुरै गर्न नचाहने भनेको पनि बाहिर आएको छ । तर पनि मेरो निरन्तर कुराकानी भइरहेको छ ।’

उनले एमालेले संशोधनको विरोध गर्नु उसकै लागि घातक हुने भन्दै अन्ततः सो पार्टी र असन्तुष्ट मधेसी मोर्चा पनि सहमतिमा आउने ठोकुवा गरे । जनताले के गलत र के सहि भन्ने राम्ररी बुझ्ने भन्दै प्रचण्डले सरकारको ध्यान संशोधन प्रस्ताव पारित गराएर तोकिएको मितिमा चुनाव गराउने भएको बताए ।

सरकार सुरुदेखि नै संविधान संशोधन राष्ट्रिय सहमति होस् भन्नेमा रहेको बताउँदै उनले भने, सरकार असन्तुष्ट पक्षका माग समेटेर संविधानको स्वीकार्यता बढाएर निर्वाचनमा जाने संकल्पमा सरकार थियो । सोहि अनुसार असन्तुष्ट पक्ष र प्रतिपक्ष दलसँग समेत छलफल गरेर संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो । अहिले जसरी विरोध गरिएको छ, यसमा त्यति ठूलो राजनीतिक दुरदृष्टि देखिँदैन । उहाँहरु पनि समझदारीमा आएर निर्वाचनमा जानुको अर्को बिकल्प छैन ।’

सात प्रदेश बनाउँदा जुन मान्यताबाट गरियो, त्यसै भित्रबाटनै अहिलेको प्रस्ताव आएको बताउँदै प्रचण्डले प्रतिपक्षी दलले यसको विरोध गर्नु भनेको राजनीतिक नैतिकता नहुने हो, भने ।

‘राजनीतिक लाभका लागि जनताको भावनामाथि खेल्नु हुँदैन, त्यसको जिम्मेवार तिनै शक्ति हुनुपर्छ । जनताको भावना र चाहनामा केही आशंका होला । तर, राजनीतिक दल र शक्तिहरुले देशको शक्ति सन्तुलन र राजनीतिक प्रणाली बुझ्नुपर्छ’, प्रचण्डले भने, ‘ हिजो दुई नम्वर प्रदेशमा सिन्धुली राखौं भन्दा नमान्ने साथीहरु आज पाँच नम्वर प्रदेशमा गरिएको संशोधनको विरोध गर्नुको औचित्य छैन ।’

अतिवादी सोच राख्ने दलहरु मात्र संशोधनको विरोधमा देखिएको दाबी गर्दै प्रचण्डले यसले पनि संशोधन प्रस्ताव सही छ भन्ने प्रमाणित भएको तर्क गरे ।

राजनीतिमा बिमति तर, आफ्नै प्रस्तावका विरुद्ध यस्तो फोहोरी खेल खेल्नु हुँदैन भन्दै प्रचण्डले अगाडि भने, ‘ हिजो जुन दलहरुले त्यही प्रस्ताव गरेका थिए, आज त्यसैको विरोध गर्नु नैतिकता कुल्चनु हुन्छ । माओवादीको हकका तमुवान र मगराँत मिलाउने प्रयास गरिएको छ । माओवादीका दृष्टिले हेर्दा त यो संयुक्त प्रदेशको अवधारणा हो । साथीहरुले हिजो जुन प्रस्ताव अघि सार्नुभयो, हामीले त्यही प्रस्ताव अघि सारेका हौं ।’

अहिले सीमांकनको विरोध गर्नेहरुलाई यसपहिले दुई नम्वर प्रदेशमा पहाड नमिसाउनु राष्ट्रघात थियो भन्नलाई पनि चेतावनी दिए ।
चेतावनी दिँदै उनले भने, ‘ के प्रतिपक्षी साथीहरुले दुई नम्वर प्रदेशमा पनि पहाडका जिल्ला राख्नुपर्छ भनेर आन्दोलन गर्न सक्नुहुन्छ ? हिजो आफैले गरेको प्रस्तावको विरोध गर्न कुन नैतिकताले दिन्छ ?’
प्रचण्डले कार्यक्रममा पटक पटक अहिले दर्ता भएको प्रस्ताव एमाले र कांग्रेसले अघि सारेको प्रस्ताव भएको दोहोर्याएका थिए ।
नेपालमा संघीयताका बारेमा प्रमूख दलहरुले गहन अध्ययन र विश्लेषण नगरेको औंल्याउँदै प्रचण्डले युद्धको राप र तापले मात्रै संघीयता जबरजस्ती स्वीकारिएको तर आत्मसात हुन नसकेको बताए ।

संघीयताको सैद्धान्तिक मान्यता स्वीकार्ने जोसुकैले पनि अहिलेको संशोधन प्रस्तावलाई वैज्ञानिक देख्ने दाबी गर्दै प्रचण्डले भने, ‘अहिले थारु र मगरहरुको क्लष्टर मिलेको छ । प्रतिपक्षका साथीहरु पछि फर्केर राजा महाराजाको दिशातिर जान खोजेको त होइन ? अतिमा गएर देशको समस्या समाधान हुँदैन । प्रतिपक्षका साथीहरुले गम्भीरतापूर्वक सोच्नुपर्छ ।’

उनले अगाडि थपे, ‘कसैले कसैलाई निषेध गरेर समस्याको समाधान सम्भव नै छैन । आफूले प्रस्ताव गर्दा गर्दा राष्ट्रघाती नहुने अहिले हामीले ल्याउँदा त्यही प्रस्ताव राष्ट्रघाती हुने ? यो बितण्डतावादी सोच हो ।’

पाँच नम्वर प्रदेश भारतलाई बुझाउन लागियो भनेर कुप्रचार गर्नेहरुले यसअघि दुई नम्वर प्रदेश पनि त्यसैका लागि पहाडबाट अलग गरेका थियौं भन्न सक्छन् भन्दै प्रचण्डले प्रश्न गरे ।

एमालेले आफूहरु माथि झुटो र मनोगत आरोप लगाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रघात र राष्ट्रवाद इतिहासले प्रमाणित गर्ने बताए ।

अर्को प्रसंगमा प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा गोविन्द केसीका मागबारे शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र सचिवहरुसँग छलफल भएको जानकारी दिँदै प्रचण्डले यसमा सरकार गम्भीर रहेको र छिट्टै सहमतिमा पुगिने बताए भनेर लोकान्तर डटकममा छापिएको छ ।

, ,