एउटै मञ्चबाट प्रचण्ड र बाबुरामले भने– मिल्नुको विकल्प छैन



 काठमाडौं, ११ पुस । पार्टी विभाजन भएको करिब १६ महिना पछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्राई पहिलो पटक एउटै मञ्चमा देखापरे ।

उनीहरु एउटै मञ्चमा मात्रै देखापरेनन् दुवैले एक भएर जाने संकेत गरे ।

सोमबार प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित स्वर्गीय नेता सांसद भक्ति पाण्डेको किताब ‘चाचा जी ’को सार्वजनिकरण कार्यक्रममा उपस्थित भएका दुवै नेताले यस्तो धारणा व्यक्त गरेका हुन ।

उनीहरुले आफुहरु एक अर्काको पुरक भएको भन्दै हालसम्म भएका उपलब्धीहरुको रक्षाको लागि प्रचण्ड बाबुराम मिल्नुको विकल्प नभएको बताएका हुन ।

उनीहरुले आफुहरुबीच व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाँउमा उभिने परिष्थित भएको बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने – ‘संविधान जारी भएलगत्तै बाबुरामजी अलग हुन हतार गर्नुभयो, अहिले संविधान कार्यान्वयनको चुनौति छ । अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो । हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।’
प्रचण्डले  भने, ‘प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्ने भक्ति पाण्डेको अन्तिम चाहना थियो, संयोग नै हो हामी छुटेपछि आज एकै ठाउँमा छौं, त्यो पनि भक्ति पाण्डेकै सन्दर्भमा ।’

प्रचण्डले बाबुरामसँग आफ्नो दिनहुँ छलफल हुने गरेको भन्दै पहिलेकोजस्तै राम्रो सम्बन्ध हुन थालेको बताए । ‘हामीवीच दिनहु छलफल भइरहेको छ, हाम्रा पक्षधरहरुले धेरै बिगारेनन् भने हामीबीच सहकार्य हुन सक्छ । अहिलेको स्थितिमा उहाँको र मेरो एउटै धारणा छ ।’

उनले थपे –‘माओवादी कमजोर भयो भनेर धेरै सल्बलाए । संविधान नरहेर के भयो र रु माओवादी त जाने हो नि भनेर विरोधीहरु धराप थापेर बसेका छन्, प्रचण्डले भने, ‘०४७ त फर्किन्न, आउने त ०७४ साल नै हो ।’

कार्यक्रममा बाबुराम भट्टराईले हालको उपलब्धी गुम्न नदिन प्रचण्डसँग मिल्नुको विकल्प नभएको बताए । प्रचण्डसँग व्यक्तिगत रुपमा आफ्नो कुनै दुश्मनी नरहेको, तर अलग हुन परिस्थितिले बाध्य पारेको बताए ।प्रचण्डलाई जवाफ दिँदै डा .भट्टराईले भने – ‘मैले हतार गरेको होइन । परिस्थति नै त्यस्तो थियो । मैले प्रचण्डलाई सजिलो बनाइदिएको हुँ । यो उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।’

तर, डा. भट्टराईले पुरानो कार्यशैलीले मिलनविन्दु नभेटिने भन्दै उनले आ–आफ्नो ठाउँबाट नयाँ प्रयोग गर्नुपर्ने बताए । उनले पुरानो माओवादीले नयाँ परिष्थितिमा काम नभएको भन्दै नयाँ बने एक हुन सक्ने धारणा राखेका थिए ।
खबर डबली