श्रीमद्भगवद् गीता र यसमा राजनीतिक चरित्रको चर्चा

तस्वीर : वेव

डा‍. प्रकाश ढकाल

काठमाडौ । राजनीतिको जालोले पूर्णतः घेरिएको ग्रन्थ महाभारत हो । महाभारतमा भएका राजनीतिका चिन्तन एवम् उपदेशले विश्व राजनैतिक रङ्गमञ्चमा महाभारतले आफनो छुट्टै प्रभाव जमाएको छ । महाभारतमा भएका हजारौँ श्लोकहरू राजनितिसँग सम्बद्घ छन् तर महाभारतले एउटै मात्र नीति स्थापित गरेको छैन ।

हजारौं नीतिबाट निष्कर्षमा शान्ति अभिष्टमा आए झै ज्ञानी, राजनीतिज्ञ, सन्यासी, मुमुक्षु, विद्यार्थी सम्पूर्णमा महाभारतका फरक फरक नीति छन् । महाभारतरूपी दहिको ठेकीलाई दधिविलाडोन पश्चात् नौनी–मक्खन निकालिएझैँ विविध स्वादका हजारौँ नौनीहरू प्राप्त छन् । जसमध्ये श्रीमद्भागवतगीता, विदुर नीति, धौम्य नीति, कणिक नीति  आदि चर्चामा छन् ।

श्रीमद्भगवद्गीता
गीता महाभारतको भीष्मपर्वअन्तर्गतको एउटा भाग भएपनि यसलाई स्वतन्त्र ग्रन्थकै रूपमा हेर्ने गरिन्छ । यसमा १८ अध्याय र सात सय श्लोक छन् । गीतालाई हिन्दुसमाजले पवित्रतम ग्रन्थको रूपमा मानेको छ । यद्यपि यो ग्रन्थ हिन्दु समाजमा मात्र नभएर संसारका अन्य समाजमा पनि अत्यन्त बौद्धिक ग्रन्थको रूपमा प्रसिद्ध छ । नेपालमा पनि सहिद शुक्रराज शास्त्रीदेखि पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसम्मको जीवनमा गीता–दर्शनले ठूलो प्रभाव परेको पाइन्छ । महात्मा गान्धीको सन्दर्भमा त गीता–दर्शनमा उनको विशेष श्रद्धा र विश्वास रहेको पाइन्छ । सङ्घर्षको मैदानमा लामो समयसम्म अडिग भएर रहन सक्ने क्षमता गान्धीलाई गीताबाट प्राप्त भएको थियो ।

श्रीमद्भगवद्गीता महाभारतलाई उपजीव्य बनाएर रचना गरिएको महत्वपूर्ण ग्रन्थ हो । गीताको आरम्भ महाभारतको युद्ध प्रारम्भ हुने बेलाको प्रसङ्कबाट गरिएको छ । युद्धस्थलमा भीष्म पितामह, गुरु द्रोणाचार्य, गुरूपुत्र अश्वत्थामा, अन्य कौरव बन्धुगण र अनेक इष्टमित्रहरूलाई देखेर अर्जुन किंकर्तव्यविमूढ भए । सानो हस्तिनापुर राज्यका लागि ती सबैलाई मार्नुपर्ने अवस्थाले अर्जुन अत्यन्त दुखित भए । युद्ध गर्दा पितामह, गुरु, बन्धुजन, इष्टमित्र आदिको हत्याको महापातक लाग्ने र युद्धबाट भाग्दा क्षत्रधर्मबाट च्युत हुनुपर्ने अवस्थाले गर्दा अर्जुन भयङ्गर दोधारमा परे ।

महाभारतको युद्घको मैदान कुरुक्षेत्रमा पुगेर आप्mना दाजुभाई बन्धुबान्धबहरू मारेर म विजयको माला पहिरन चाहन्न भन्ने दृढता अर्जुनबाट व्यक्त गरिएपछि श्रीकृष्णले दिएको दिव्य उपदेश नै श्रीमद्भागवतगीता रहेको कुरा प्रष्ट छ । महाभारत युग वैदिक सनातन धर्मको ह्रास भएको युग मान्नु पर्छ । साथै यो बेला आश्रमधर्म, वर्णाश्रमधर्म पनि हीन अवस्थामा थियो । यो युग वास्तवमा भौतिक उत्कर्षको युग थियो । विज्ञानको चरमोन्नतिको युग थियो ।

विद्वान्हरू श्रीमद्भागवतगीतालाई परोक्ष रूपमा वैदिकवादको विरोधी दर्शन हो भन्ने तर्क दिन्छन् । हिन्दुदर्शन वा धर्म अन्धभक्ति र अन्धविश्वासमा जन्मेको धर्म होइन । यसका विभिन्न पक्षमा वादविवाद तर्क वितर्क पाइने भएकोले नै यो धर्मका विविध पक्षका दर्शनको विकास भएको छ । ज्ञान,कर्म,सन्यास  गरी गीतालाई तीन भागमा विभक्त गरिएको छ । गीताका  महत्वपूर्ण नीतिहरू निम्न छन् ।

कर्मनीति
कर्म गीताको एक महत्वपूर्ण नीति हो । कर्मबिना एक क्षण पनि रहन सकिँदैन । वर्णाश्रम धर्ममा निर्धारित कर्म गर्नु र व्यक्तिगत लाभको लागि नभएर लोककल्याणलाई महत्व दिएर कर्म गर्नु जस्ता विषयवस्तुको प्रतिपादन कर्मयोगमा गरिएको छ । गीतामा अन्य कुराहरूका अतिरिक्त कर्मयोगलाई बढी जोड दिइएको छ ।  कर्मवादी चिन्तनको उठान गर्नु गीताको प्रमुख लक्ष्य हो । अर्जुनको युद्ध विमुख र निराशावादी मनस्थितिबाट सुरु भएको गीता न्यायोचित युद्धलाई एक अपरिहार्य कर्तव्य ठानेर अर्जुन लड्न तत्पर भएको स्थितिबाट समाप्त भएको छ । यसको आशय राजा वा शासकलाई आफ्नो धर्म (राजकीय) मा आकृष्ट गराउनु हो ।

आफ्नो कर्तव्यप्रति सधै दृढ रहने निर्देश गीताले गरेको छ । श्रीमद्भागवद्गीतामा दुई मार्गलाई अभिष्ट ठानिएको छ । ती मार्गमा  ज्ञान योग र कर्मयोग पर्दछन् । कर्मयोगबाट पुनर्जन्म वा अन्य बन्धनबाट बाँधिनुपर्दछ भन्ने होइन । निष्काम कर्म सबै प्रकारका दोषबाट मुक्त छ । कर्ममा फलको आशा राख्यो भने दुःखको उत्पत्ति हुन्छ । तसर्थ निष्काम कर्मयज्ञ गर्नु बराबर हो । ज्ञानयज्ञले मानिस आफु वा ईश्वरमा सम्पूर्ण कुराहरू राख्न र महसुस गर्न सक्ने हुन्छ । यस्तो अवस्था प्राप्त गर्न निष्काम कर्म गर्नु आवश्यक हुन्छ ।

त्यागनीति
गीताको राजनैतिक दृष्टिबाट विश्लेषण गर्दा त्याग पनि गीताको नीति हो । गीतामा त्यागी भनिएबाट कर्मबाट विमुख भन्ने होइन । कर्म गर्ने तर फलको आशा नराख्ने भन्ने हो । सारा सम्पूर्ण साथीभाइ बन्धुबान्धवलाई त्यागेर सत्य एवं न्यायको मार्गमा लम्किनुलाई गीताले आदर्श मानेको छ ।

भक्तिनीति
मानिसले सबै कर्म ईश्वरमा अर्पित गर्नु नै सच्चा भक्ति हो । ईश्वरमा समर्पित भक्तको परम गति प्राप्त हुन्छ भन्ने भक्तियोगको मान्यता छ । भक्तियोगका अनुसार भगवान्लाई सर्वेश्वर र सबैको आत्मा मानिएको छ  । आत्मालाई सबैभन्दा प्रिय वस्तु मानिएको छ । यसरी भगवत्स्वरूप आत्माको बोध नै भक्तियोगको प्रमुख विषय हो । भक्तिलाई पनि सगुण र निर्गुण गरी दुई प्रकारमा राख्न सकिन्छ । सगुण भक्तिमा मूर्तिपूजालगायत ईश्वरका विभिन्न मायावी अवतारहरू समेटिएका छन् । गीताको गूढ रहस्य केलाउँदा भगवान् निर्गुण निराकार रूपमा नै छन् ।

भगवान्को वास्तविक स्वरूप निर्गुण र निराकार नै हो र यो नै परमार्थ सत्य हो भन्ने गीताको मूल मर्म हो । अर्को अर्थमा सगुण उपासना कर्मसहित हुन्छ भने निर्गुण उपासनामा कर्मको त्यागपूर्वक गरिन्छ । ब्रह्मज्ञान प्राप्तिको साधनको रूपमा ईश्वरको उपासना गर्नु पनि निर्गुण उपासना नै हो । आत्मालाई जान्न नसक्ने र देहाभिमान नछुटेका व्यक्तिलाई भने सगुण उपासना नै आवश्यक हुन्छ ।

भक्ति गीताको एक महत्वपूर्ण नीति हो ।

अनन्य भावले परमात्माको भजन गर्नु प्राणीको कर्तव्य हो । भजनको आशय स्तुति मात्र होइन । सत्य एवं न्यायवादी पुरुषहरूको सान्निध्यतामा रहन खोज्नु नै भक्ति हो । सत्पुरुषहरूको संगतमा रहन पनि गीताको निर्देश छ । राजकीय विचारमा सच्चा सत्पात्रको संगतले राज्यको समृद्धि हुन्छ । राजा वा शासकको उन्नति पनि उसको संगतको आधारमा हुन्छ । प्रजा देखि राजा सम्मका सम्पूर्ण मानिसहरूको समृद्धि शासकको संगत एवं भक्तिमा निहित हुन्छ ।

चरित्र निर्माण नीति
चरित्र निर्माण पनि गीताको उपदेश हो । सच्चा ज्ञान एवं सगतले मानवलाई पवित्र जीवन जिउने प्रेरणा दिन्छ । त्याग,सत्य,ज्ञान जस्ता कुराहरूको अवलम्बनले मानवमा असल चरित्र निर्माण गर्दछ । राजाले पनि निरन्तर रूपमा यज्ञ यागादि,प्रजा पालना,एवं राष्ट्रको रक्षा जस्ता कर्महरूले आफ्नो राजकीय चरित्रको विकास गर्नुपर्दछ । असल चरित्र भएको राजामा मात्र जनताको अत्यन्त विश्वास रहन्छ । विविध धर्मशास्त्रहरूमा पनि चरित्रलाई बढि महत्व दिइएको पाइन्छ ।

उपस्थिति नीति
उपस्थिति गीताको अर्को महत्वपूर्ण सन्देश हो । संसारमा अधर्म र अन्याय मौलाएको खण्डमा विष्णु अनेक अवतार लिएर आउने कुरा श्रीकृष्ण सित भनेका छन् । राजाले पनि राष्ट्रमा आपत् परेको समयमा अवतार झैं भएर अपराधीलाई दण्ड दिन आउँछन् । तसर्थ देशमा घटेका समस्याको निवारण गर्नको लागि राजालाई आह्वान गर्नुपर्दछ । राजा अवतार भएर दण्ड सहित आउँछन् । प्रजा र राज्यको रक्षा गर्दछन् भन्ने यसको मान्यता रहेको छ ।