आज पाँच अर्बको निक्षेप संकलन उपकरण बिक्री हुँदै

काठमाडौं, पुस ७ - नेपाल राष्ट्र बैकले आज पाँच अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बिक्री गर्ने भएको छ । बोलकबोलको माध्यमद्वारा अपराह्न २ बजेसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मात्र उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्नलागेको राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।

बोलकबोलको आधारमा ब्याजदर निर्धारण हुने गरी ९० दिनको लागि उक्त उपरकरण बिक्री गर्नलागेको विभागले जनाएको छ । निक्षेप लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याज समेत उल्लेख गरी अपराह्न २ बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुुपर्नेछ ।

आवेदन दिँदा घटीमा पाँच करोड र बढीम पाँच करोड रुपैयाँले निशेष भाग जाने अंकसम्मको सिमामा रहेर आवेदन दिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । निक्षेप उपकरणको सावाँ तथा ब्याज भुुक्तानी मिति भने २०७३ चैत ९ गते तोकिएको छ ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने तर तरलता अनुपातमा भने गणना गर्न पाइनेछ । यसैगरी खरिद गरिएको उक्त निक्षेप उपकरण राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा फाइनान्स कम्पनीह्रुमा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।