खोजी सौन्दर्यको (कविता)

खोजी सौन्दर्यको (कविता)

       -मैया सुबेदी


मनले चोखो भूमि
जहाँ फुलेका छन्
सेता सुन्दर फूल
र मनको पूर्णइच्छा
तिमीलाई जिन्दगीमा
केवल एकपटक भएपनि
पुष्पमय देख्ने रहर
तर अपशोच !
फूलका जराहरू
काटिरहेछ धमाधम
बिषालु किराले
अब के भरिएला त
कशिल्यै आस्थाको अञ्जुली ?

लाग्छ अचेल
तिम्रो अनुपम सौन्दर्यको रापबाट
टाढै बसिरहुँ
किनकी
भेट्नु र छुट्नुको दुःख भन्दा
पीडा पनि हुने गर्दछन्
निकै मिठा र लोभलाग्दा सपनी जस्तै ।

सायद मन मननै हो
लाग्छ कहिले काहीँ
अलिकति सौन्दर्य चोरेर
गुलाफको फूलबाट लिऊ
बाँचौ यिनकै सामिप्यमा
मर्न पाउँ यिनैसंग एकाकार हुँदै।

तर
आक्रान्त भइन्छ कहिलेकाँही
जीवनको लरखराइमा
सौन्दर्यमा  लट्ठिदा लठिदै
गुलाफको झ्याङमै टासिन पुगियो भने !
च्वास्स घोच्दा फेरि विपनासँगै
ती कुरुप काँडाहरुले
सायद सौन्दर्य त तिनैले
थापेको  बल्छी पो रहेछ
त्यसैले मनैदेखि भन्न मन छ
खोजी सौन्दर्यको होइन
हुनु पर्छ,
केवल  सत्यता र यथार्थको ।

हेर्ने गर्छु फूलसंगै राखेर जीवन
भोगेको छु
तीखा काडारुपी जीवन
अनेकौं दर्द र पीडा बिचको सौन्दर्य
त्यसैले खोजी सौन्दर्य भित्रको
आस्था,विश्वास र प्रतिवद्ताको हुनुपर्छ
जहाँ म तिम्रो नजिक पुग्दा
खस्न नपरोस्
छङगाछुरे भीरबाट
किन कि मेरो मनको
गहिराइमा तिम्रै सद्भाव
स्नेहको सागर भेटेकी छु
त्यसैले यहाँ हुनुपर्छ खोजी
सौन्दर्य भित्रको सुवासको।
२०७३ पुस २,पोखरा