चौंथो दिन पनि बुटवल ठप्प, दिनभरी प्रदर्शन



बुटवल, मंसिर १८ / सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको बिरोधका कारण रुपन्देही चार दिनदेखि ठप्प भएको छ । विभिन्न संघ-संस्थाले बन्दको आह्वान गरेका छन् ।

भने संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै शान्तिपूर्ण प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा शनिबार बुटवलको राजमार्ग चौराहाबाट प्रहरीले दुई जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कतिपय स्थानमा प्रदर्शनकारीले अभद्र व्यवहार गर्नुका साथै अराजकता प्रदर्शन गरेको प्रहरीको दाबी छ । बुटवलको राजमार्ग चौराहा स्थित व्यवसायिक सटरमा ढुङ्गा प्रहार गरे लगत्तै प्रहरीले उनीहरुलाई पक्राउ गरी नियन्त्रणमा राखेको हो । अनियन्त्रित रुपमा ढुङ्गा हान्दै हिडेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुटवलको मिलनचोकमै भैरव युवा समाजले उक्त विधेयकको बिरोधमा प्रदर्शन गरिरहेको छ । अस्पताल लाईनमा रहेको माओवादी केन्द्रले निर्माण गरेको शहिद स्मारकमा प्रहरीले सुरक्षा दिइरहेको छ । त्यहाँ बिहीबार सहिद स्मारक फाड्न खोज्दा झडप भएपछि प्रहरीले कडा सुरक्षा प्रहरा दिएको हो ।  बिभिन्न संस्थाले आह्वान गरेको आम हड्तालका कारण बुटवलबाट छुट्ने कुनै पनि सार्वजनिक सवारीका साधन छुटेनन ।

त्यस्तै तिलोत्तमा ड्राइभरटोमा पनि स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहलको पुत्ला निर्माण गरी प्रदर्शन गरेका थिए । भैरहवामा पनि प्रदर्शन भएको छ । उद्योगधन्दा, कलकारखाना सबै बन्द छन् । व्यापार व्यवसाय पनि बन्द छन् । प्रहरी, पत्रकार, एम्बुलेन्स, दुध बोक्ने तथा विवाहका गाडी भने निर्वाध रुपमा चलेका छन, नयाँपेजमा अमृत गिरी लेख्छन।

,