अमरगाथा शान्तिप्रिय वन्दना

अमरगाथा
शान्तिप्रिय वन्दना

सायद यसरी नै होला
लेखिने अमर गाथाहरू
जो हामीहरू पढिरहेका छौं
पिडी दर पिडी जुगौं देखी ।

बरगाँच,
एक अजंगको रुख
जहाँ म ओत लाग्न पुँगे
प्रचण्डगर्मीको समय
शाखा प्रशाखा
अनेकौ आकृति बनाउँदै
लहरा पर्दै फैलिएका
यसका हाङ्गा बिङ्गाहरु  नियाले
फिरफिराइरहेका पात
सुस्साइरहेको हावाको बेग
सायद हुनन् यी सबै
जीवनका अनमोल आकृतिहरू
यी सबलाई,
अन्तरमनका पानाहरूमा लिपीबद्ध गरेँ ।

आदत मात्र होइन
एक परिबन्द समेत हो मन
मान्छे बहकिन पुग्दछ
जब कालो बादल उठ्ने गर्दछ आकाशमा
घनघोर वर्षात् पछिको उर्लदोँ खहरेसंग
कहिलेकाँही
हेलिएर अलप हुन समेत
तम्तयार हुन्छ मान्छे
परिबन्द, बादल, आकाश, वर्षात्, उर्लदो खहरे
आदि शब्दावलीहरू
अमर बन्दा रहेछन् प्रतिकको रुप लिँदै
यदाकदा कहिल्यै नमेटिने गरी ।

म ओत लाग्न पुँगे
बरगाँचको विशाल रुखको फेँदमा
सो विशलताको छाँयामा बसेर
नियाले घण्टा, दिन, महिना र दशकहरू
जो मैले बिताएँ
यिनै उत्कण्ठा, उद्बेग र उच्छवासहरू संगै
हाङ्गाबाट लहराउँदै
जमिन छोएका लहरासम्म
पुगेर जडब्रत बन्न पुगे ।

पुनराबृत हुन्छन् सपनाहरू
यी पुनराबृत सपनाहरू
चिमोट्दैनन् मात्र
कहिलेकाँही बिद्रुप बन्ने गर्दछन्
र गहन विशादको भुमरी भित्र धकेल्छन्
गोधुलि
चरनपछिको गृहप्रवेशको उदात्त वेला
संघारमा सजिने पुष्पाञ्जलि
वा
गहन अधकल्चो नीदबाट
एकाबिहानै ब्यूँझिदा
दुई हत्केलाको बीचमा मुस्कुराउने
सुकोमल चेहरा
गोचर नहुँदो होत के हुँदो हो ?

सायद तानावानाहरू यिनै हुन्
पात्र, परिवेश, भाव र भङ्गिमा यिनै हुन्
आलेख, संवाद, मर्म र संवेगहरू यिनै हुन्
यिनै परिधि वा चौघेरा भित्र
लेखिन पुग्दा रहेछन् गाथाहरू
यी गाथाहरू पिडी दर पिडी
श्रृति बन्दै अमर बन्न सक्छन्
कालान्तरसम्म ।
२०७३ साउन २, हेटौडा ।