डाक्टर के.सी.को समर्थनमा अमेरिकाको डिसी भर्जिनियामा बिशाल ऐक्यबद्धता भेला

कृष्ण सादगी
भर्जिनिया अमेरिका
३ डिसेम्बर २०१६। आज वासिगंटन डिसी महानगर क्षेत्रका नेपाली समुदायले प्रा. डा. गोविन्द केसीको प्राण रक्षाका लागी यथाशिघ्र पहल गर्न जोड दिदैँ उनले उठाएका सबै मागहरुप्रति ऐक्यबद्धता जनाएका छन्। भर्जिनिया राज्यको मनासस शहरमा एकत्रित गैरआवासीय नेपालीहरुले '३ करोड नेपालीको स्वास्थ्यमाथी खेलबाड नगर्न' नेपालका सम्बन्धीत सबै निकाय र पक्षलाई चेतावनी समेत दिएका छन् |

स्वस्फ्रुतरुपमा डा केसीलाई समर्थन जनाउन भेला भएको नेपाली समुदायले सरकार, राजनैतिक दल तथा सम्बन्धीत सबैलाई ध्यानाकर्षण गराउदै अविलम्ब बार्ताद्वारा समस्या समाधान गर्न आग्रह गरेको छन्।

प्रा. डा. केसीको अमुल्य जिवनमाथी खेलबाड नगर्न खबरदारी गर्दै उपस्थित भएको जनसमुदायले राजनीतिक दलका नेताहरुले भागबण्डाका आधारमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई थिलथिलो पारेकोमा आक्रोश व्यक्त गरे। डा. केसीको शान्तिपुर्ण एवं अहिंसात्मक अभियानले उचाई हासिल गरेको ठहर गर्दै सत्याग्रहको पक्षमा उभिएर वक्ताहरुले सरकारको रवैयाको आलोचना गरे। कार्यक्रममा उपस्थित नेपाली समुदायले चिकित्सा तथा शिक्षा क्षेत्रमा भएको माफियातन्त्रको विरोधमा कडा र चर्का नारा लगाउदै खबरदारी गरेका छन् |

नेपाल किन गरिब देशमा परिणत हुँदै गएको छ भन्ने तथ्यलाई मनन गर्न उपस्थित व्यक्तीत्वहरुले राजनीतिक दलहरु र तिनका नेताहरुको कार्यशैलीको खुलेरै आलेचना गरेका छन्। आज डा केसी जस्ता महान् सुधारकहरुले ३ करोड नेपालीको हित हुने जायज माग राख्दा राख्दै पनि दशौ पटकसम्म अनसन बस्नु परेकोमा संसारको सचेत समुदाय आश्चर्यमा परेको ठहरसमेत गरेको छ। साथै पटक पटक सम्झौता गरेर उल्लघन गर्दा सरकार कहिल्यै पनि जनताको स्वास्थ्यप्रती संवेदनशिल नभएको संदेश संसारभर फैलिएको भन्दै चिन्ता व्यक्त गरेको छ।

कार्यक्रममा छोटो मन्तव्य राख्दै वक्ताहरुले नेपालमा शुसासन र विकासका लागी डा. केसी जस्ता हजारौ हजार व्यक्तीहरु यथास्थितीबादी शासकहरुको कार्यशैली बिरुद्द पागल बन्न तयार हुनुपर्ने अवस्था आएको बताएका थिए। नेपालबाट अमेरिकाको भ्रमणमा आईपुगेका प्राध्यापक गंगाराम गौतमले विश्वविध्यालयहरु भागबण्डाले ध्वस्त भएको, शिक्षाक्षेत्रमा चाकडी नगरे सक्षमहरु पनि अगाडी नबढ्ने अवस्था सिर्जना भएकोले डा. केसीको माग सतप्रतिशत सहि रहेको विश्लेषण गरेका थिए। उनले विश्वविध्यालहरु बेतिथीबाट गुज्रिएको र यसलाई माफियातन्त्रले चलाईरहेको कारण त्रिभुवन विश्वबिद्यालयको लोकप्रियता खस्कदो अवस्थामा पुगेको भन्दै सबैले दबाब सिर्जना गरेर बचाउनु पर्ने आग्रह गरे |

मन्तब्य कै क्रममा माफियाको लागि काम गर्ने सरकार अहिले कानमा तेल हालेर बसेको, राजनैतिक दल मौन रहेको ,नागरिक समाज तथा मानव अधिकारबादीहरु समेत चुप लागेकोमा आक्रोश व्यक्त गरेका थिए | विवेकशिल नेपालीको प्रयासमा डा. केसीको समर्थनमा स्वस्फुर्तरुपमा काठमाडौका सडकमा भेला भएका हजारौ सचेत नेपालीहरुलाई धन्यबादसम्त दिएका थिए।

कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थाका अगुवाहरुको पहलमा भएको थियो | कार्यक्रममा दधिराम ढुंगाना, मुक्तिनाथ पन्त, परशुराम भण्डारी, मेदिनी अधिकारी, पदम उपाध्याय, कृष्ण भण्डारी, राजेश कोईराला, पदमराज रेग्मी तथा अन्यले डा केसी र उनका मागहरुको समर्थनमा विभिन्न विचारहरु प्रस्तुत गरेका थिए | यस़क्षेत्रमा बसोबास गर्ने प्रा. डा. गोपी उप्रेती, प्रा. लेखनाथ अधिकारी, गोपाल रेग्मी, कमल भुषाल, माधव पोखरेल, रामचन्द्र भट्टराईलगायतका बुद्धिजीवी लब्ध प्रतिष्ठित व्यक्तिहरुकोसमेत सहभागिता रहेको थियो |

डा. केसीको समर्थनमा! डा. केसीलाई बचाऔ! भ्रस्ट माफिया मुर्दाबाद! डा. केसी जिन्दाबाद! म डा. केसीको साथमा छु' आदी लेखिएका सामग्रीहरु लिएर सहभागीहरु उपस्थित भएका थिए |




,