इन्डोनेशियामा शक्तिशाली भूकम्प, २५ जनाको मृत्यु

एजेन्सी, मंसिर २२-इन्डोनेशियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेशियाको आचे प्रान्तको समूद्र केन्द्रविन्दु भएर ६ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परि अहिलेसम्म २५ जनाको ज्यान गएको छ ।भूकम्पको केन्द्रविन्दु सुमात्रा टापुको सिग्ली शहरबाट १९ किलोमिटर दक्षिण पूर्व पर्छ ।

भूकम्पका कारण आचेका धेरै भवन भत्किएका छन् । भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमान छ । सुनामीको खतरा भने नरहेको इन्डोनेशियाको मौसम विभागले जनाएको छ । नेपाली समय अनुसार बुधबार बिहान चार बजेर ४८ मिनेट जाँदा भूकम्प गएको हो । ज्यान जानेको संख्या बढ्न सक्ने अनुमान छ ।

आचेमा सन् २००४ मा समुद्रमुनि गएको भूकम्पका कारण आएको सुनामीका कारण एक लाख २० हजार जनाको ज्यान गएको थियो । उद्धार तथा राहतको काम भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । ज्यान जानेमा धेरै बालबालिका छन् ।