तिवारी हत्याको विरोधमा लुम्विनी अञ्चल बन्द

काठमाडौं, पुस ५-युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी अञ्चलमा बन्द भएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, गुल्मी तथा अर्घाखाँचीमा बन्द भएको छ ।
बन्दका कारण मंगलबार बिहानैदेखि गाडी चलेका छैनन् ।
बजार, पसल तथा शैक्षिक र्सस्थाहरु ठप्प छन् । हत्यारालाई पक्राउ गरी कानुनी कारवाहीको माग गर्दै नेकपा एमालेले लुम्विनी अञ्चल बन्दको आह्वान गरेको हो ।

पाल्पामा सोमाबार बेलुकादेखि नै बन्द छ । युवा संघ पाल्पाका अध्यक्ष करुणा काफ्लेले मंगलबार बिहान ६ देखि बेलुक ६ बजेसम्म बन्द रहेको जानकारी दिनुभयो । यस्तै युवा संघ कपिलवस्तुले आह्वान गरेको चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग, चन्द्रौटा–कृष्णनगर, जितपुर–तौलिहवा र तौलिहवा–लुम्विनी सडकखण्डमा गाडी चलेका छैनन् ।

यसैबिच सरकारले संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा भएको बन्द २० दिनपछि सोमबार ११ बजेदेखि खुलेको गुल्मीमा फेरि बन्द भएको छ । बन्द खुलेको १८ घण्टापछि फेरि बन्द भएको हो ।

तिवारीको हत्याको विरोधमा युवा संघ गुल्मीले मंगलबार बिहानैदेखि गुल्मीमा प्रदर्शन गरेको छ । यस्तै रुपन्देही  नवलपरासी तथा अर्घाखाँचीमा पनि बिहानैदेखि बन्द भएको छ ।