तीन दलका शीर्ष नेता सहमतिमै राष्ट्रिय समस्याहरुको समाधान खोज्न सहमत


 
काठमाडौं : प्रमूख राजनीतिक दलबीच शीर्ष नेताबीच दलीय सम्वाद जारी राख्दै सहमतिमै राष्ट्रिय समस्याहरुको समाधान खोज्ने समझदारी भएको छ । संविधान संशोधन प्रस्ताव, स्थानीय निकायको निर्वाचन, महाअभियोगको विषय तथा, पुर्नसंरचना आयोगका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सबै विषयमा प्याकेजमा सहमति खोज्ने विषयमा सकारात्मक छलफल भएको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिए।  छिट्टै अर्को बैठक बसी विद्यमान राजनीतिक समस्याबारे समाधान खोज्ने सहमति भएको देउवाले बताए । उनले संविधान संशोधन प्रस्ताव फिर्ता लिन लागिएको हो भन्ने पत्रकारको प्रश्नमा अहिले फिर्ता नहुने जनाए । एमालेका अध्यक्ष केपी ओलीले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गराउने र निर्वाचनसम्बन्धी कानुनको तर्जुमा लगायत विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए ।

सरकारले मंसिर १४ गते संसदमा दर्ता गराएको संविधान संशोधनपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित प्रतिपक्ष दलहरुले निरन्तर संसद अबरुद्ध पार्दै आएका छन भने दलहरुबीचको दूरीसमेत बढेको छ। यसअघि सभामुख ओनसरी घर्तीले संसद खुलाउने विषयमा समन्वयकारी भूमिका निर्वाह गर्न खोजेपनि सफल भएकी थिइनन्। दलहरुबीचको दूरी बढ्दै जाँदा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका हुन्।

छलफलमा असन्तुष्ट पक्षलाई पनि मिलाएर लैजाने गरी सहमति खोज्न प्रधानमन्त्रीले आग्रह गरेका थिए। स्रोतका अनुसार बैठकमा एमाले अध्यक्ष केपी ओलीले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै मुलुकलाई निर्वाचनतर्फ लैजान निर्वाचन सम्बन्धी कानुन संसदमा ल्याउन आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्रीले असन्तुष्ट पक्षलाई पनि कहीँ न कहीँ ठाउँ दिनुपर्ने भन्दै सबैको सहमतिमा निर्वाचनमा जानुपर्ने बताएका थिए।

प्रधानमन्त्री प्रचण्डको आब्हानमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

, ,