बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

काठमाडौं, पुस २६ – व्यवस्थापिका–संसद्को मंगलबारको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको  विधेयक सामान्य छलफलपछि पारित भएको हो । बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बंैकिङ क्षेत्रमा देखिएको विसङ्गतिलाई सुधार गर्दै बैंकप्रति जनताको विश्वास बढाउने र बैंकिङ कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने विधेयकको उद्देश्य रहेको बताए ।

बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिमा रहेका व्यक्तिको योग्यता र कार्यकाललगायतको व्यवस्थालाई सुनिश्चित गरिएको छ । यस्तै संसदको शुन्य समयमा सांसदहरुले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवको घोषणा गरेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन् । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले पृथ्वी नारायणको योगदानलाई विर्षन नहुने भन्दै सार्वजनिक बिदा दिन माग गरेका हुन् ।

व्यवस्थापिका संसदको बैठकमा एमाले सांसद प्रकाश ज्वालाले पृथ्वीनारायण शाह राजा मात्र नभएर आधुनिक नेपालका निर्माता भएकाले, उहाँलाई सम्झिनु अपराध नभएको बिदा दिनु राज्यको कर्तव्य भएको बताए ।
बैठकमा राप्रपा र नेपाली कांग्रेसका सासंदले पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेका छन् । संसदको अर्को बैठक आउँदो २९ गते शुक्रबार १ बजे बस्नेछ ।