संविधान संशोधन प्रस्तावः सांसद खरिद बिक्रीको खेल सुरू !

काठमाडौं, २५ पुस। सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणीय खेल सुरु भएको छ । सत्तारुढ दलसँग ३ सय ९३ सांसद छन् । यद्यपि, सत्तारुढ भएर पनि विधेयकप्रति राप्रपाले असन्तुष्टि जनाइरहेको छ ।

 प्रतिपक्षी दलहरुसँग २ सय १ जना सांसद छन् । विधेयक पारित गराउन हाल कायम ५ सय ९४ सांसदमध्ये दुईतिहाइ पुर्‍याउन ३ सय ९८ मत आवश्यक पर्छ । यो स्थितिमा सरकारलाई विधेयक पारित गराउन ५ मत अपुग हुन्छ । यस्तो अवस्था सांसदहरुको खरिदबिक्री हुने खतरा धेरै हुन्छ ।

 विधेयक पारित गराउन सत्तारुढ दल राप्रपा र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको मत निर्णायक हुन्छ । तर दुबै दलले संविधान संशोधन विधेयक परिमार्जन हुनु पर्ने बताइरहेका छन् । संसदमा राप्रपाको ३७ र फोरम लोकतान्त्रिकका १४ सांसद छन् ।