जनवरी ७ बाट एएनएमा नयाँ नेतृत्वले कार्यभार सम्हाल्दै


अमेरिकामा रहेका नेपालीहरूको सबैभन्दा पुरानो संस्था एएनए- 'द एशोसियसन अफ नेप्लिज इन अमेरिका'को नेतृत्व मेदिनी अधिकारीले सम्हाल्ने भएका छन् । एएनएका महासचिव तथा उपाध्यक्ष रहिसकेका अधिकारीले आगामी जनवरी ७ देखी एएनएको नेतृत्व गर्न लागेका हुन् ।

एएनएको बोर्ड अफ ट्रष्टीको पछिल्लो बैठकले उनको  अध्यक्षतामा खगेन्द्र अधिकारी वरिष्ठ उपाध्यक्ष,  डा. तुलसी जोशी कम्युनिकेसन्स डाइरेक्टर र  विजय श्रेष्ठ र राजेन्द्र खतिवडा बोर्ड मेम्बर रहने गरी नयाँ अन्तरिम कार्यसमिति चयन गरेको हो ।

अनावश्यक विवादमा मुछिएर सन् २००९ पछि कमजोर बनेको एएनए लामो कानूनी लडाइपछि सन् २०१५ बाट पुन कृयाशिल बन्दैछ । एएनएले चुनावी प्रकिया पूरा गरी निर्वाचित कार्यसमिति ल्याउनुपर्ने भए पनि निर्धारित समयमा उक्त प्रकिया पूरा हुन नसकेका कारण संस्थाका पूर्वउपाध्यक्ष अधिकारीको नेतृत्वमा आगामी जुलाई ४ सम्मका लागि अन्तरिम नेतृत्वको चयन भएको हो।

सन् २००२ देखि एएनएमा आबद्व  उनी २००३ मा बोर्ड मेम्बर, २००७ मा महासचिव  र २००९ मा उपाध्यक्ष भएका थिए । २००३ देखि एएनएलाई अमेरिकामा रहेका नेपाली विद्यार्थीमाझ पुर्याएर संस्थालाई ठूलो दायरामा पुर्याउन उनको उल्लेखनीय भूमिका रहेको बताइन्छ ।

कुनै समय एएनएलाई अमेरिकामा रहेका नेपालीको छाता संस्थाका रूपमा बिस्तार गर्न अहम् भूमिका निर्वाह गरेका संस्थाका तत्कालिन महासचिव अधिकारी २००९ मा सर्बसम्मत अध्यक्ष हुने निश्चित थियो। तर त्यही बेला संस्थामा बढेको चरम गुटबन्दीका कारण चयन भएको साइमन ढुंगानाको नेतृत्वकालमा संस्थामा विभिन्न विभिन्न विबादहरु सिर्जना भएका थिए। करीब ६ बर्षसम्म झण्डै 'कोमा'मा रहेको संस्थाले यसपाली पुन नयाँ सम्भावनाको ढोका खोलेको छ।

नयाँ नेतृत्वले काम थाले लगत्तै एएनएले अमेरिकामा हुर्किएका नेप्लिज अमेरिकन युवाहरुलाई विभिन्न चरणबाट छनौट प्रकृया पुरा गरी फुटवलमा नेपालको चर्चित आहा रारा गोल्ड कपको प्रतिष्पर्धामा भाग लिन नेपाल लैजाने भएको छ। क्यालिफोर्नियाका मुकुन्द ढुंगाना व्यबस्थापक र भर्जिनियाका चन्द्र लामाको खेल समन्वयमा २२ सदस्यीय टिम जनवरीको दोस्रो साता प्रतिषपर्धा गर्न नेपाल पुग्ने भएको छ।

एएनएको नयाँ अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा एएनएलाई यसको ऐतिहासिक भूमिका र दायित्वको हेक्का राखेर नयाँ परिप्रेक्ष्यमा अगाडि बढाउने बताए । उनले आफूलाई अध्यक्षमा मनोनयन गर्ने बोर्ड अफ ट्रष्टीप्रति कृतज्ञता व्यक्त गर्दै भने, "एएनएको स्थापनाकालदेखि संलग्न सबैको  योगदानको उच्च मूल्यांकन गर्ने र यसलाई प्रजातान्त्रिक मूल्य, मान्यता र  आदर्शमा आधारित एक गौरवशाली संस्था बनाउन लागि पर्नेछु । सबैको सहयोग, साथ र सद्भावबाट हामी त्यो सपना साकार पार्नेछौं।"

सन् २०१७ जनवरी ७ देखि परिवर्तित सन्दर्भमा  एएनएको नेतृत्व सम्हाल्ने प्राध्यापक अधिकारी लामो समयदेखि एएनएमा आबद्व रहदै आएका एक प्रतिबद्द, भिजनरी एवं बौध्दिक व्यक्तित्व मानिन्छन्। फेयरफ्याक्स भर्जिनियामा उनको आईटीसम्बन्धी विविध काम गर्ने सफल कम्पनी छ। उनको कार्यालयमा रहेको आधुनिक सुविधा सम्पन्न सभा हल नेपाली कम्युनिटीमा जुनसुकै बेला पनि निशुल्क उपलब्ध गराउँदै आएका छन्। आवश्यक पर्दा सहज उपलब्धताका कारण यो हल कम्युनिटी सेन्टरकै रुपमा परिचित बन्दै गएको छ। कम्युनिटीको सेवामा यसले निक्कै सहयोग पुर्याएको अवस्था छ।

एएनएले भविष्यमा धेरै नविन कार्यक्रमहरुको तयारी गरिरहेको बताउने अमेरिकन मिलट्री युनिभर्सिटीका आईटी प्रोफेशर अधिकारी 'ईकोनोमिष्ट' पनि हुन्। उनी अहिले  अर्थशास्त्रमा विध्यावारिधीको तैयारी गरिरहेका छन्। अर्थशास्त्रकै एक विधामा उनको पुस्तक बजारमा आउने तयारीमा छ। अध्यक्ष अधिकारी निक्कै 'फास्ट पेश'मा काम गर्न रुचाउँछन्। डा. विष्णु पौडेलको अध्यक्षता र उनी सिईओ रहेको ईक्वालिटी फाउण्डेशन मार्फत नेपालका सबै सार्बजनिक हाईस्कुलहरुलाई आईटिमय बनाउने अभियानको घोषणा पनि अधिकारीले गरिसकेका छन्।

,