मिरा राईले जितिन्


काठमाडौं । नेपालकी अल्ट्रा धाविका मिरा राईले नेशनल जिओग्राफिक पिपुल्स च्वाइस एडभेञ्चर अफ दि इयरको उपाधी जितेकी छन् ।

नेशलनल जिओग्राफिले जनाएअनुसार अल्ट्रा धाविका मिरा राई नेशनल जियोग्राफीले  सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपल्स च्वाइस अवार्डको मनोनयनमा पर्न सफल भएकी थिइन् ।

एड्भेन्चर्स खेलको प्रबद्र्धन तथा विकासमा उल्लेखनीय योगदान गरेको भन्दै उनीसहित विश्वका उत्कृष्ठ  १० जनाको नाम नेशनल जियोग्राफीले गत वर्ष मनोनयनमा पारेको थियो ।

गत बर्षको नोभेम्बरमा त्यसको घोषणा भएको थियो  । यसका लागि अनलाइन भोटिङ भने डिसेम्बर १६ बाट सुरु भएको तियो ।
सो पुरस्कार जितेपछि राइले आफुले सो पुरस्कार ग्रहण गर्दा निक्कै सम्मानित भएको महसुस गरेको र  यस  सफलताका लागि साथ दिने सबै साथीभाइ, परिवार तथा नेपाली जनताप्रति कृतज्ञ भएको बताएकी छन् ।

मिराले एड्भेन्चरर्स  स्पोर्टसमा युरोप तथा अष्ट्रेलियामा भाग लिइसेकेकी छन् । उनको अन्तराष्ट्रिय यात्रा इटलीबाट सुरु भएको थियो । गत सेप्टेम्वरमा उनले इटलीको एक प्रतियोगितामा भाग लिएकी थिइन् ।

हङकङ र फ्रान्समा जितेको अन्तर्राष्ट्रिय अल्ट्रा अवार्डले अल्ट्रा धाविकाको रुपमा चर्चाको शिखरमा पु¥याएको थियो । उनले फ्रान्समा पनि ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथन उपाधी जितेकी थिइन् ।

मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिएकी थिइन् ।