चार दल चारतिर, स्थानीय तहकाे निर्वाचन अन्याेलमा

काठमाडौं, ५ माघ। सरकारले संविधान संशोधन विद्येयक संसदमा टेबुल गराएपछि प्रमुख दलहरुवीच पूनः सम्वादहीनताको अवस्था देखा परेको छ। सत्तारुढ दल जसरीपनि संशोधन विद्येयक पारित गराएरै छोड्ने मनस्थितिमा देखिन्छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी दलहरु कुनै हालतमा यसलाई पारित गर्न नदिने पक्षमा उभिएका छन्।

एमाले लगायतका अन्य विपक्षी ८ दलले उक्त प्रस्तावको विरुद्धमा काठमाडौंमा बृहत्त शक्ति प्रर्दशन समेत गरिसकेका छन्। हिजो संविधान जारी गर्दा एकै ठाउँमा उभिएको प्रमुख दल काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र आज संविधान कार्यान्वयन गर्ने सवालमा यसरी सम्वादहिनताको अवस्थामा पुग्नु नेपाली राजनीतिमा नराम्रो संकेत हो ।

 सरकारको नेतृत्व सम्हालिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला युएई भ्रमणमा छन्। सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि देश दौडाहबाट हिजोमात्रै काठमाडौं ओर्लिएका छन्। त्यो पनि राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विहेमा सहभागी हुनको लागि।

 देउवा फेरि जिल्ला भ्रमणमा निस्किने कार्यक्रमहरु बाहिर आईरहेका छन्। उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरु मधेश दौडाहमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओली भोलिबाट जिल्लाको कार्यक्रममा निस्किने तयारी छ। यस्तो अवस्थामा एक ठाउँमा बसेर वार्ता, सम्वाद तथा छलफलबाट राजनीतिक निकास निकाल्नुपर्ने बेलामा शीर्ष नेताहरु नै यसरी विभाजित बन्ने हो भने न त संविधान नै कार्यान्यन हुन्छ, न त मुलुक आर्थिक समृद्धिको बाटोमा बढ्छ।

विडम्बना नै भन्नुपर्छ, नेपाल जहिलेपनि राजनीतिक संक्रमणकालबाट गुज्रिँदै आईरहेको छ। राजनीतिक संक्रमण यति लामो समय रहिरह्यो कि यसबाट उम्किन हाम्रा दलहरु कहिल्यैपनि सफल भएनन्। आगामी ०७४ माघ ७ गतेभित्रै स्थानीय, प्रादेशिक र केन्द्रगरि तीन वटै निकायको चुनाव गर्नुपर्ने संवैधानिक बाध्यता छ। तर दलहरु चुनावको लागि तयार भएको देखिँदैन्। बरु, एकले अर्को दललाई अनि एउटा नेताले अर्को नेतालाई गाली गलौज गर्नमै व्यस्त छन्। यतिसम्म कि एमाले नेताहरुले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा कुनै पनि निकायको चुनाव हुने संभावना नै देखेका छैन्।

एमाले अध्यक्ष ओलीले त सार्वजनिक कार्यक्रममा भन्ने नै गरेका छन्,“यो सरकार चुनाव गराउनको बनाईएकै होईन, अरु कुनै उद्देश्यले अरुको निर्देशनबाट बनेको हो, यसले के को चुनाव गर्छ र?” प्रतिपक्षी दलले यो सरकारले चुनाव गराउँदैन भनेर शंका गर्नु त ठिकै हो, तर सत्तारुढ दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नै प्रचण्ड सरकारले चुनाव गराउन नचाहेको आरोप लगाउन थालिसकेका छन्। उनले चुनाव गराउने हो भने आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने लबी थालेका छन्।

 नेता पौडेलमात्रै नभर काँग्रेस सभापति देउवापनि अहिले प्रचण्डको भूमिका र व्यवहारबाट सशंकित भएका छन्। उनले प्रचण्डले सत्ता लम्ब्याउन चाहिरहेको बताउन थालेका छन्। उता संविधान संशोधन विद्येयक पारित नभएसम्म कुनैपनि निकायको चुनाव हुन नदिने भनेर मधेशी मोर्चाले चेतावनी दिँदै आएको छ। मोर्चाका शीर्ष नेताहरुले चुनावमा जान आफूहरु तयार भएको तर त्यसको लागि संशोधन विद्येयक पारित हुनुपर्ने जिकिर गरेका छन्।