सारङ्ककको फस्टलुक र ट्रेलर सार्वजनिक [भिडियो सहित]

काठमाडौँ , पुस २७ - निर्माण भएको झण्डै २ बर्षपछि नेपाली चलचित्र सारङ्कक प्रदर्शनको लागि तयार भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले चलचित्रको फस्ट लुक पोष्टर, गीत र ट्रेलर सार्वजनिक गरेको छ । अमेरिकामा प्रिमियर भएपछि यो चलचित्र नेपालमा प्रदर्शन हुने चलचित्रका निर्माता तथा निर्देशक विरेन्द्र हमालले जानकारी दिए । नयाँ कलाकारहरुको बाहुल्यता रहेको चलचित्र सारङ्कमा सपना सिंह ठकुरी, सुर्वण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सागरसिंह ठकुरीको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु बाँस्तोलाको छायाँकन,गौतम राज खड्का सम्पादन र विरेन शाक्यको संगीत तथा किरण दाहालको द्धन्द्ध रहेको छ ।कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक हमालले चलचित्र सारङ्कक देशभक्ती चलचित्र भएको बताए । उनले भने चलचित्र मार्फत देशसँग तिमीले के माग्ने भन्दा पनि तिमीले के दिन दियौं भन्न खोजेका छौं ।

कुनै पनि नराम्रो मान्छेमा एउटा राम्रो पक्ष पनि हुन्छ, यसलाई आत्मसाथ गर्दै यदि ऊ सुध्रिन चाहन्छ र आफैंले निर्माण गरेको सामाजिक बिकृति र मुल्य मान्यता बिरुद्ध आफैं लड्न चाहन्छ र उक्त समाजलाई सुधार्न चाहन्छ भने त्यसलाई समर्थन गर्ने वा नगर्ने भन्ने नै यस चलचित्रको मुख्य उद्येश्य हो ।

चलचित्रमा पहिलो पटक ५ वटा द्धन्द्धका दृश्यहरु समाबेश गरिएको छ र चलचित्रमा पहिलो पटक महिला द्धन्द्ध निर्देशक किरण दाहालले द्धन्द्ध निर्देशन गरेकी छन् । सम्भवतः उनको यो निर्देशन दक्षिण एसियामै पहिलो पटक महिला द्धन्द्ध निर्देशकको रुपमा पहिचान बनेको छ । झण्डै एक दशक लामो द्धन्द्ध कलाकारितापछि उनले पूर्णरुपमा द्धन्द्ध निर्देशन गरेको यो पहिलो चलचित्र हो । उनले यसअघि २०६९ सालमा प्रदर्शनमा आएको चलचित्र लुटमा सह-द्धन्द्ध निर्देशक भएर काम गरेकी थिइन । सारङ्ककको अर्थ माहुरीको झुण्ड हो ।