संशोधन प्रस्ताव संसद बैठकमा टेबुल गर्ने सत्तारुढ दलको निर्णय

काठमाडौं, २१ पुस । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाको आज बसेको बैठकले यही २४ गते बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेवल गर्ने निर्णय गरेको छ। बिहीबार भएको त्रिपक्षीय बैठकमा आगामी संविधान संशोधन प्रस्ताव टेवल गर्ने निर्णय गरेको हो।

सर्वोच्चको फैसलापछि संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सहज भएको निष्कर्ष निकाल्दै बैठकले सकेसम्म एमालेकै सहमतिमा संशोधन प्रस्ताव टेवल गर्ने निर्णय समेत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव टेवल हुनेमा शंका नगर्न मोर्चाका नेतालाई आग्रह गरेका थिए। उनले संशोधन प्रस्ताव आइतबार बस्ने बैठकमा टेवल गर्ने र प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउन सबैले सक्रियता लिनुपर्ने बताएका थिए। मोर्चाले सरकारले संशोधन प्रस्ताव सदनमा टेबुल गराएपछि त्यसमा संशोधन हाल्ने तयारी गरेको छ।