​सर्वोच्चद्वारा लोकमानसिंह कार्की अयोग्य ठहर

काठमाडौं, पुस २४ – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य ठहर गरेको छ । सर्वोच्च अदालतले कार्कीको नियुक्ती बदर गर्दै अर्को योग्य मान्छेलाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गर्न पनि राष्ट्रपति र संवैधानिक परिषदलाई भनेको छ ।

कार्कीको योग्यता नपुगेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीलाई अयोग्य ठहर गरेको हो । अर्यालले दायर गरेको योग्यता सम्बन्धी रिट निवेदन सर्वोच्चले सुरुमा खारेज गरेको थियो । फैसलामा चित्त नबुझेपछि अधिवक्ता अर्यालले फेरि सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो । त्यसपछि सर्वाेच्चले योग्यतामाथिको मुद्दा पुनरावलोकन गरेको हो ।

कार्कीले ६२–६३ को जनआन्दोलनमा दमन गरेको, अनियमितता गरेका लगायतका कारणले कार्की विवादमा पर्नु भएको थियो । अख्तियारले नै कार्कीलाई भविश्यमा कुनै पनि सरकारी पदका लागि अयोग्य ठहर गरेको समेत भेटिएको थियो । तर पनि मुख्य दलहरुको जोड बलमा संवैधानिक परिषदको सिफारिसमा कार्कीलाई २०७० साल वैशाख २५ गते तत्कालिन राष्ट्रपति रामवरण यादवले अख्तियारको प्रमुखमा नियुक्त गर्नुभएको थियो ।