आज पृथ्वी जयन्ती, सार्वजनिक बिदा भएन

काठमाडौं, २७ पुस - आज पृथ्वी जयन्ती अर्थात पृथ्वीनारायण शाहको जन्मदिन। लोकतन्त्रको स्थापनापछि सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडेपनि नागरिकस्तरमा भने यो दिवस मनाईँने गरिएको छ। यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजनामा पृथ्वी जयन्ती मनाईंदैछ। पृथ्वी जयन्तीमा आज सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छैन्।

 मंगलबार बेलुकासम्म धेरै नेपालीहरुले आशा गरे विपरित सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिने निर्णय गरेको हो। मंगलबार साँझसम्म गृहमन्त्रालयले बिदाबारे कुनै निर्णय गरेन। यसअघि सरकारको क्यालेण्डरमा क्रिश्चिनहरुको महान चाड क्रिसमस डेमा राष्ट्रिय विदा उल्लेख नगरिए पनि अन्तिम समयमा आएर गृहमन्त्रालयले सार्वजनिक विदाको घोषणा गरेको थियो।

तर, पृथ्वीजयन्तीमा सरकारी विदा घोषणा गर्नका लागि भने सरकारले निकै ठूलो कञ्जुस्याइँ गरेको राप्रपा नेपालले बताएको छ। क्रिश्चियनहरु भन्दा पनि ठूलो संख्यामा नेपालीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताका प्रतीक मान्ने भएकाले आजको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइनुपर्थ्यो आवाज उठ्दै आएको छ। क्रिश्चियनको मागलाई सम्बोधन गर्ने सरकारले एउटा ठूलो समुदायको भावनालाई बेवास्ता गरेको जनताको गुनासो बढेको छ। ०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो। त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन।