भारतको बिहारस्थित गंगा नदीमा डुंगा डुब्दा २१ जनाको मृत्यु

भारत, २ माघ । भारत बिहारको राजधानी पटनास्थित गंगा नदीमा डुंगा डुब्दा कम्तिमा २१ जनाको ज्यान गएको छ।

सबलपुर दियाराबाट पटना घाट जाँदै गरेको डुंगा शनिबार बेलुका गंगा नदीमा डुबेको पटनाका एसपी चन्दन कुशवाहाले जानकारी दिए। क्षमता भन्दा बढी यात्रु रहेकाले डुंगा डुबेको प्रहरीले जनाएको छ। घटनामा १० जनालाई सुरक्षित निकालिएको छ।

 डुंगामा ४० जना रहेको अनुमान छ। बिहारका मुख्य मन्त्री नीतिश कुमारले घटनाप्रति दुःख व्यक्त गरेका छन्। बेपत्ताको खोजी तथा घाइतेको उपचार र राहत कार्यलाई तीब्र बनाउन उनले निर्देशन समेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।