चिनियाँ राष्ट्रपति नेपाल आउने संकेत, चीनमा नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रम घोषणा

काठमाडौं २२ पुस ।चीनले सन् २०१७ का लागि ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम’ घोषणा गरेको छ । यसलाई यस वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रूपमा लिइएको छ । राष्ट्रपतिले भ्रमण गर्ने वर्ष चीनले सम्बन्धित देशमा पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गर्दै आएको नयाँ पत्रिकाले जनाएको छ । चीनले केही दिनअघि नेपाली दूतावासका अधिकारीलाई यसबारे जानकारी दिएको थियो ।

मंगलबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चाइना नेसनल टुरिजम एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका महानिर्देशक चाङ लिचोङसँग भेट गरी ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम २०१७’ घोषणा गरेकोमा धन्यवाद दिएका छन् ।

‘चीनको यो कदमले नेपालमा पर्यटकको संख्या सन् २०१७ मा उल्लेख्य रूपमा वृद्धि हुनेछ,’ पौड्यालको भनाइ उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ । चीनको यो कदमले चिनिया पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने छ । भूकम्पपछि थलिएको नेपाली पर्यटनलाई त्राण दिन चीनको नयां घोषणा सहयोगी बन्न सक्छ । सन् २०१६ मा करिब ८० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१४ मा १ लाख २८ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा गएका थिए ।

सन् २०१५ मा यो संख्या ६६ हजार थियो । साहसिक पर्यटनमा जान चिनियाँ युवाका लागि नेपाल अद्वितीय गन्तव्य भएको भन्दै सो सन्देश सामाजिक विज्ञापन, अनलाइन मिडिया तथा पर्यटक सम्बन्धित प्रकाशनहरूमा प्रचार–प्रसार गरिदिन पौडेलले महानिर्देशक चाङसँग आग्रह गरेका थिए । चिनियाँ पर्यटकलाई नेपाल जान सहज होस् भनी बन्द रहेका सडक नाका चाँडो खोल्ने काम भइरहेको जानकारी पनि चिनियाँ पक्षले नेपाली अधिकारीलाई दिएको छ ।

नेपालमा चिनियाँ पर्यटक बढाउन चीनले जतिसक्दो चाँडो मर्मत गरी तातोपानी नाका खोल्ने आश्वासन दिइसकेको छ । यसले तिब्बत हुँदै जाने चिनियाँ पर्यटकलाई सहज हुनेछ ।