अनुराधा भारतीय पद्मश्रीबाट सम्मानित



जनवरी२५, दिउँसोको समय । अनुराधा कोइराला पिंगलास्थानस्थित आफ्नै कार्यालयको सेल्टर कक्षमा थिइन् ।

कार्यकारी निर्देशक विश्वराम खड्का अचानक उनलाई खोज्दै सेल्टर कक्षमा प्रवेश गरे ।

उनले अत्तालिँदै भने, ‘भारतको गृह मन्त्रालयबाट ई–मेल आएको छ, फोन गर्नु भनेको छ । आउनुस् न चाँडो फोन गरौं ।’विश्वरामले अनौपचारिक भाषा र लयमै अनुराधालाई आग्रह गरे ।

अनुराधा आफ्नो कार्यकक्षतर्फ लागिन् । अनुराधालाई खड्काले पछ्याए । विश्वरामले दिल्लीस्थित भारतीय गृह मन्त्रालयमा फोन लगाए ।
फोनको घण्टी गयो ।

फोर रिसिभ गर्दै उताबाट “को हो ?” भन्ने प्रश्न आयो ।

उनले माइती नेपालबाट निर्देशक विश्वराम खड्का बोल्दैछु भने ।

उताबाट“म कोइरालासँग कुरा गर्न चाहन्छु” भनेको सुनियो ।

विश्वरामले “ओके” भन्दै अनुराधालाई रिसिभर दिए ।

अनुराधाले फोनको रिसिभर समाइन् र भनिन्, “एस, आई एम अनुराधा कोइराला ।”उताबाट “कंग्रयाजुलेशन” भने। “फर ह्वाट ?” अनुराधाले प्रश्न गरिन् । जवाफ आयो, “इन्डिया ह्याज डिसाइडेट टु अवार्ड यु पद्मश्री ।”

अनुराधाको घाँटी भरिएर आयो । जिब्रो मौन भयो । गह आँसुले भरियो ।एक थोपा आँसु आँखाको डिल हुँदै परेलीलाई छिचोलेर गाला हुँदै बग्यो । वातावरणमा मौनता छायो ।

अनुराधाले विश्वरामलाई टेलिफोनमा बोल्न संकेत गरिन् ।

विश्वरामले कहिले आउनुपर्ने हो, तत्काल हो भने हामी भ्याउँदैनौं भने ।

ई–मेल एडे«स पठाउनु, हामी डिटेल पठाइदिन्छौं भने उताबाट । फेब्रुअरी अन्तिममा भारतीय राष्ट्रपतिको कार्यालयमा हुने भने जवाफ आयो ।
फोन संवाद समाप्त भयो । अनुराधाले भारतीय पद्मश्री पाउनु निश्चत भयो ।

अनुराधाले सोचिन्, “मलाई अवार्डसँगै जिम्मेवारी थपियो । “चेलीबेटी बेचविखनविरुद्ध फाइट गरिरहेकी छस्, अब नेपाललाई चेलीबेटी बेचबिखन मुक्त राष्ट्र बना” भनेर थप हौसलासहितको जिम्मेवारी सुम्पिएजस्तो लाग्यो उनलाई ।

अनुराधाले मनमनै प्रण गरिन्, “यो जिम्मेवारीको अर्को अवार्ड हो, मैले नेपाललाई चेलीबेटी बेचबिखनमुक्त बनाउनुपर्छ । र, बनाउँछु पनि ।”

लगत्तै नेपालस्थित भारतीय दूतावासले पनि फोन गर्यो र अनुराधाले पद्मश्री पाएको जानकारी दियो ।
स्रोत: बाह्रखरी

, ,