पोखराको लेकसाइडस्थित एक रेष्टुरेन्टमा आगलागी

पोखरा, २७  पुस । पोखराको बाराहीचोकमा रहेको ट्राइ स्टार रेष्टुरेण्टमा मंगलबार राति भीषण आगलागी भएको छ । आगलागीले रेष्टुरेण्ट पूर्णरुपमा जलेर क्षति भएको प्रत्यक्षदर्शीले जनाएका छन् । राति करिब साढे १० बजेदेखि किचनबाट फैलिएको हुन सक्ने आगोले रेष्टुरेण्ट जलेर पूर्णरुपमा ध्वस्त हुनुको साथै नजिकै रहेको एक ट्राभस एजेन्सी, एटिएम काउन्टर जलेको छ ।

 काठैकाठले निर्मित उक्त रेष्टुरेण्ट स्थानीय धमेन्द्र बाटाजूले केही वर्षअघि सञ्चालनमा ल्याएका थिए । रुफ टपसहितको उक्त रेष्टुरेन्ट पर्यटकको आकर्षणको केन्द्र थियो । मध्यरातसम्म   आगो नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टको दमकल प्रयोग गरिएको थियो । आगो लागेको थाहा पाएपछि सुरक्षाकर्मी, स्थानीयबासी, सर्वसाधारण घटनास्थल पुगेका थिए ।

आगो नियन्त्रण जारी रहँदा कति क्षति भयो यकीन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, गण, नेपाली सेना, सशस्त्र आगो निभाउने प्रयासमा छन् ।

 पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले आगोलागी भएको थाहा पाएपछि आफू पनि नियन्त्रणका लागि आएको घटनास्थलबाट जानकारी दिए । उनले भने–‘रेस्युको काम भैरहेको छ, हामीहरु थप क्षति हुन नदिन भरमग्दूर प्रयासमा छौं ।’ पोमनारायण धमेन्द्रसँग व्यवसायमा साझेदार छन् ।