नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ: ओली


काठमाडौं, ४ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै आशंका नगर्न आग्रह गरेका छन्। मंगलबार चाइना–नेपाल थिंक ट्यांक कन्फेरेन्सको उद्धघाटन् गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उक्त सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्य ह्वाङ योयोइसहित पूर्वाधार विकासका विज्ञहरु सहभागी छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपाल–चीन सम्बन्धको आधार, विश्वास, चासो र पूर्वाधार विकासका रणनीतिबारे उल्लेख गर्दै भने,‘नेपालले सधैं एक चीन नीतिलाई दृढताका साथ अवलम्बन गर्दै आएको छ।’

 उनले सानातिना घटनालाई आधार मानेर आशंका नगर्न चिनियाँ टोलीलाई आग्रह पनि गरे । नेपालमा संविधान जारी भएकाले विकासको नयाँ आयाम शुरु भएको तर्क गर्दै उनले नेपालले आगामी वर्ष्भित्रै तीनै तहको निर्वाचन सम्पन्न गरेर आर्थिक समृद्धितर्फ अघि बढ्ने स्पष्ट पारेका थिए। त्यस्तै राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै चीन र नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध मजबुद रहेको बताए।

 अध्यक्ष थापाले चीनले विश्वव्यापी प्रजातन्त्रको मान्यतालाई आत्मसात गरेको पनि उल्लेख गरे । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले नेपालले चीनसँग समेत पारबाहन र व्यापारीक सम्बन्ध राख्न सक्नुपर्नेमा पनि जोड दिए ।

 नेपालमा पारबहनमा समस्या आउनेबित्तिकै भारतलाई मात्र गाली गर्ने परम्पराको अन्त्य गरेर चीनसँगको सम्बन्ध मजबुद बनाउनुपर्ने उनको भनाइ थियो । त्यस्तै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्य ह्वाङ योयोइले चीनले नेपालको विकास निर्माण दुई पक्षिय सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा दुई पक्षीय सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने विश्वास व्यक्त गरे।

 त्यस्तै सत्तारुढ दल कांग्रेसका नेता गुरुराज घिमिरेले नेपालको विकास निर्माणमा चीनको साझेदारी महत्वपूर्ण रहेको बताए । त्यस्तै नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले नेपालले चीनसँगको सम्बन्धको अधिक उपयोग गर्नुपर्ने बताइन् ।उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ।