‘सीमाङ्कनको विषय प्रदेशसभाको क्षेत्राधिकार’

विराटनगर, पुस २३-नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् सञ्चालन गर्न नेकपा एमाले सकारात्मक भए पनि सरकारले अहिलेसम्म वार्ता र संवाद नथालेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज साँझ पत्रकारसँग कुरा गर्दै उनले ‘सरकारले संसद् सञ्चालन गर्न पहल नगरेका कारण’ आउँदो आइतबार संसद् अवरुद्ध हुन सक्ने सम्भावना व्यक्त गरे। तत्कालीन संविधानसभाध्यक्ष नेम्वाङले सरकारकै कारण संविधान असफल हुन लागेको जिकिर गर्दै संसदीय मूल्यमान्यता र संवैधानिक प्रक्रियाका आधारमा संविधान संशोधन विधेयक आउनुपर्ने धारणा व्यक्त गरे।

पूर्वसभामुख नेम्वाङले ‘सीमाङ्कनको विषय प्रदेशसभाको क्षेत्राधिकार भएकाले’ यसबारे संसद्मा कुनै छलफल नै हुन नसक्ने धारणा व्यक्त गरे।अन्य विषयबारे समेत सरकारले प्रतिपक्षी दलसँग छलफल र वार्ता गरेर मात्र प्रस्ताव अगाडि बढाउनुपर्ने स्पष्ट पार्दै नेता नेम्वाङले सरकारकै कारण मुठभेड हुनसक्ने स्थिति सिर्जना भएको गुनासो गरे। रासस