एसएसपी कार्यालयअगाडि केटीको निहुँमा ग्याङफाइट

काठमाडौं, २ माघ - ललितपुर प्रहरी परिसरको सामुन्ने रहेको फुटबल चौरमा शनिबार साँझ भएको कन्सर्टमा एक युवकमाथि छुरा प्रहार भएको छ।

छुरा प्रहारबाट काभ्रे कानपुर घर भइ ललितपुरको तिखिदेवलमा बस्दै आएका १६ वर्षीय मिलन लामा गम्भीर घाइते भएका छन्।

केटीको विषयलाई लिएर विवाद भएपछि अर्को समूहले उनीमाथि छुरा प्रहार गरेको बुझिएको छ। पेटमा छुरा प्रहार भएपछि उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।

छुरा प्रहार गरेको अभियोगमा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको छ। छुरा हान्ने मुख्य युवक फरार रहेका छन्। ललितपुर परिसरको नेतृत्व एसएसपीले गर्दै आएका छन्। प्रहरी कार्यालयअगाडि सो घटना भएपछि प्रहरीको आलोचना हुन थालेको छ।