नागढुंगामा गाडीको चाप

काठमाडौं, पुस २३ – काठमाडौंको मुख्य नाका नागढुंगामा चापमा गाडी गुडिरहेका छन् । बिहान धादिङ र काठमाडौं जोड्ने सीमाना पिपलको मोडमा एउटा ट्रक बिग्रिएपछि अहिले चापमा गाडी गुडिरहेका नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए ।

उहाँका अनुसार अहिले बिग्रिएको ट्रक सडकबाट हटाउने प्रयास भइरहेको छ । त्यहाँ कम्तिमा पनि एक किलोमिटरसम्म गाडी लाइनमा रहेका उहाँले बताए। यसअघि बिहान काठमाडौंबाट मनाङका लागि छुटेको बा १५ च ४४८२ नम्बरको जिपको ठक्करबाट नौबिसेमा अन्दाजी ६५ वर्षका सानु थापाको घटनास्थलमै ज्यान गएपछि स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका थिए ।

स्थानीय बासिन्दाको अवरोधका कारण लामो जाम भएपछि प्रहरीले बल प्रयोग गरेर बाटो खुलाएको थियो । त्यसको पनि प्रभाव अझै परेकाले चापमा गाडी गुडिरहेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।