संशोधन प्रस्ताव तासको खेल जस्तै हो–ओली

काठमाडौं, पुस २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई आघात पार्नेगरी सरकारले संविधान संशोधन गर्न खोजेको आरोप लगाए । एमालेसहित विपक्षी ९ दलले काठमाडौंको भृकुटीमण्डपमा गरेको जनसभामा उहाँले सत्तारुढ दल संविधान कार्यान्वयन र चुनाव हुन नदिने षडयन्त्रमा लागेको आरोप लगाए।  संविधान संशोधनको प्रस्ताव पनि तासको पत्ता जस्तै हो, यसले राष्ट्रियतालाई आघात पार्छ ।’

एउटा उद्देश्यका लागि बनेको सरकार अर्कै उद्देश्यको काममा लागेको उहाँले आरोप लगाए । अहिलेको संविधान संशोधन प्रस्तावले निर्वाचनमा कतै पनि सहयोग नगर्ने उहाँले दावी गरे। उहाँले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित हुन नदिने बताए । मधेसी केन्द्रित दललाई संकेत गर्दै ओलीले भने, ‘संविधान जलाउने र च्यात्नेहरुले संविधान संशोधन नगरी चुनाव हुन दिन्न भन्नुमा गम्भीर षडयन्त्र र उद्देश्य छ ।’ संविधानले निर्धारण गरेको निकायहरु गठन गर्नु पर्ने र त्यसका लागि चुनाव हुनु पर्ने ओलीले बताए ।

एमालेलाई तराईमा कमजोर बनाउने मधेसवादी केही नेताको अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘तराईमा उहाँहरुले जितेको ११ सिट हो, एमालेले ४० सिट जितेको छ । तराईका नागरिकमा रहेको देशभक्तिलाई कमजोर नठानियोस् । यसको अगुवाई एमालेले गर्छ । राष्ट्रहितलाई तलमाथि हुन दिंदैनौं । राष्ट्रहित विपरीतका कुरा पारित हुन दिंदैनौ ।’उहाँले कुरा गर्दा मधेसका कुरा गर्ने, तर तराईका अरु भाषालाई मासेर हिन्दी भाषालाई माथि ल्याउने षडयन्त्र भैरहेको आरोप पनि लगाए ।