बल प्रयोग गरेर भए पनि स्ववियु निर्वाचन गराउन प्रधानमन्त्री तयार



काठमाडौं । बल प्रयोग गरेर भए पनि स्ववियु निर्वाचन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार देखिएका छन् । नेकपा माओवादी विप्लव निकट विद्यार्थी समूह तथा नेवि संघको असन्तुष्ट पक्षले क्याम्पसमा तालाबन्दी गरेर निर्वाचन कार्यतालिका प्रभावित पारेपछि प्रधानमन्त्रीको यस्तो धारणा आएको हो ।

बुधबार बिहानै प्रधानमन्त्री दाहालले तीन प्रमुख पार्टीका शीर्ष नेता र विद्यार्थी संगठनका नेताहरूलाई समेत छलफलका लागि बोलाएका थिए । छलफलमा प्रधानमन्त्रीले तालाबन्दी र विद्यार्थीबीच असहमति दीर्घकालीन समस्या भएको बताउँदै यसैको बहानामा निर्वाचन सार्न नहुने तर्क गरेको अनेरास्ववियुका प्रचार विभाग प्रमुख सुदीप शर्माले जानकारी दिए ।

“जस्तोसुकै अवरोध हटाएर स्ववियु निर्वाचन गराउन प्रधानमन्त्री तत्पर देखिनुभएको छ,” उनले भने, “निर्धारित मिति १४ फागुनमै निर्वाचन गर्ने गरी कार्यतालिका हेरफेर गर्न उहाँले निर्देशनसमेत दिनुभएको छ ।”

विप्लव निकट माओवादीको थवाङमा बन्दसत्र चलिरहेको र २८ वर्षे उमेर हदको विरोध गर्दै नेवि संघको एक समूहले क्याम्पसमा ताला लगाएका कारण चुनाव अनिश्चित बनेको थियो । त्यस्तै, मंगलबार त्रिभुवन विश्वविद्यालयअन्तर्गत उपत्यकाभित्रका आंगिक क्याम्पस प्रमुखहरूले पनि  तालाबन्दीका बीच निर्वाचन गर्न नसक्ने त्रिविलाई जानकारी गराएका थिए ।

विप्लव निकट विद्यार्थी संगठनले आफूहरू स्ववियु चुनावको विरोधी नरहेको र निर्वाचन कार्यतालिका एक हप्ता पर सारे ताला खोलिदिने बताएकाले विद्यार्थी संगठनहरू पनि एक हप्ता निर्वाचन पर सार्न लचिलो भएका थिए । तर, प्रधानमन्त्री जसरी पनि तोकिएकै मितिमा निर्वाचन गराउन तत्पर देखिएपछि निर्वाचन हुने वातावरण बनेको शर्माको भनाइ छ ।

नेविसंघले ताला खोल्यो

उमेदवार मनोनय, दाबी विरोध लगायत निर्वाचन कार्यतालिका तीन– चारदिन पर सारेर १४ गते नै निर्वाचन गराउन प्रधानमन्त्रीले निर्देशन दिएपछि नेवि संघले ताला खोलेको संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । “नेवि संघको समूहले लगाएको ताला खोलिसकेको छ । मलाई लाग्छ, अरु साथीहरूले पनि ताला खोल्नुहुन्छ । निर्वाचन फागुन १४ भित्रै हुन्छ,” उनले भने । नेविसंघका सबै नेता कार्यकर्तालाई निर्वाचनमा खटिन निर्देशन दिइसकेको भन्दै उनले निर्वाचन हुनेमा शंका नगर्न आग्रहसमेत गरे ।

त्यस्तै, अखिल क्रान्तिकारीका महासचिव वीरेन्द्र बस्नेतले स्ववियु निर्वाचनका लागि सरकारले सम्पूर्ण सहयोग गर्ने बचन दिइसकेकाले निर्वाचन हुनेमा आफूहरु ढुक्क भएको बताए । “निर्वाचन कार्यतालिकामा केही हेरफेर हुन सक्छ तर निर्वाचन तोकिएकै मितिमा हुन्छ,” उनले भने बाह्रखरीमा समाचार प्रकाशित छ |