पूर्व प्रहरी अधिकृतको देउवालाई खुला पत्र

  श्री शेरबहादुर देउवा ज्यु,
   सभापति, नेपाली काँग्रेस

 "सत्य सेवा सुरक्षणम "को मुल मन्त्र बोकेको नेपालको प्रमुख सुरक्षा निकाय हाल विवादमा देखिएको छ! हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल  लगायत अन्य १४ जना उच्च प्रहरी अधिकारीहरू फाल्गुण २ गते बाट अनिवार्य अवकाशमा जादै हुनुहुन्छ |

    प्रहरी निमावली अनुसार AIGP र AlGP नभएको खण्डमा प्रहरी नायव महानिरीक्षकबाट वरिष्ठता,कार्यकुशलता, नेतृत्व वहन गर्न क्षमता र मातहतका प्रहरी कर्मचारीलाई नेतृत्व प्रदान गर्न सक्ने क्षमताको आधारमा मन्त्रीपरिषदले नयाँ प्रहरी महानिरीक्षक नियुक्ती गर्नु कानुनी प्रवधान छ |

   नेपाली काँग्रेस र ने.क.पा माओवादी गठबन्धन सरकारको प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधीले प्रहरी "चेन अफ कमाण्ड " नभत्काउने विधि र नियम अनुसार नै प्रहरी महानिरीक्षकको चयन गर्ने अभिव्यक्ति दिदै आईरहेकोमा तपाईँले क्षेत्रीयताको आधारमा आफू निकट व्यक्तिलाई चुनावमा बहुमत दिलाई दिने आस्वसनमा बरियता मिचेर १ नं बरियताका नवराज सिलवाल लाई रोकेर ३ नं बरियताका प्र.ना.महानिरीक्षक जय बहादुर चन्द प्र.महानिरीक्षक चयन गर्ने ठाडो राजनैतिक हस्तक्षेप गर्नुभयो भन्ने हल्ला बाहिर आएको छ |

 यति सम्मकी जय बहादुर चन्द लाई प्र.महानिरीक्षक नियुक्ती नगरेमा सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार ढलाउने चेताउनी प्रचण्डलाई दिनु भयो भने आफ्नै विश्वास पात्र उप-प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई यात गृहमन्त्रीबाट राजीनामा या जय बहादुरको नियुक्ती भनेर धम्काउनु भयो भन्ने समाचारले व्यापकता पायो |

देशको राजनीतिक परिस्थिति बुझेको ब्यक्ती भएका नाताले यी हल्लाहरु सहि हुन् भन्ने मेरो बुझाई हो | त्यसैले यी विचारहरु लेख्न गईरहेको छु |

अन्तत प्रचण्डले तपाईको दबाब झेल्न नसकी गठबन्धनको प्रधानमन्त्रीबाट हात धुनु पर्छ भन्ने डरले मिति २०७३-११-०२ गते नं १ बरियताका नवराज सिलवाल लाई पन्छाएर ३ नं बरियताका जय बहादुर चन्द लाई नियुक्ती गरयो |

 त्यसैगरी सरकारले विधी र कानुन मिच्दै प्र.महानिरीक्षक नियुक्ती गर्ने संभावनालाई मध्यनजर राख्दै अधिवक्ता कपिल देव ढकालले सर्वोच्च अदालतमा रिट दायर गर्नु भयो र उक्त रिटको सुनुवाई गर्दै सम्मानित प्रधानन्याधीस शुशिला कार्कीको एकल इजलासले प्रहरी महानिरीक्षकको नियुक्ती यथा स्थानमा राख्न पदवाहाली नगर्ने नगराउन भनी अल्पकालीन आदेश जारी गरयो |

   प्र.ना.महानिरीक्षक नवराज सिलवालले आफु बरियता ,कार्यकुशलता, नेतृत्व वहन गर्न क्षमता हरेक हिसाबले नं १ मा रहेको र सरकारले विधि  र नियम मिचेर प्र.महानिरीक्षक नियुक्ती गरेको हुँदा आफूलाई  प्र.महानिरीक्षक नियुक्ती गरी पाउँ भनी सर्वोच्च अदालतमा रिट दायर गरे | दुवै रिटको अन्तिम फैसला आँउदो फाल्गुण ८ गते सम्मानित प्रधानन्याधीस शुशिला कार्कीको एकल इजलासबाट हुदै छ |

   अत: श्री शेर बहादुर देउवा ज्यु , तपाईँ आफुलाई प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्रको हिमायती ठान्ने नेपाली काँग्रेस जस्तो पाटीको सभापति भएर यसरी सुरक्षा निकायमा ठाडो हस्तक्षेप गरी विधि र कानुन विपरीत प्र.महानिरीक्षक चयन गर्ने उत्प्रेरित हुनुमा तपाईको के स्वार्थ लुकेको छ ? के कस्ता व्यक्तिगत लाभ अनि आस्वसनमा प्रहरी "चेन अफ कमाण्ड " भत्काउने हिम्मत गर्नु भयो |

   यस मुलुकको गृहमन्त्री तथा पटक पटक प्रधानमन्त्री समेत भईसक्नु भएका तपाईँ जस्तो नेताबाट जुन किसिमको ठाडो राजनैतिक हस्तक्षेप भयो यसको जति निन्दा भत्सना गर्दा पनी कमी हुन्छ | बारम्बार राजनैतिक हस्तक्षेपले शिथिल बन्न पुगेको प्रहरी कहिले राजनैतिक हस्तक्षेप मुक्त हुन्छ ?

  यति सम्मकी नेपाल प्रहरीको ६२ बर्षको लामो  ईतिहासमा प्रचण्ड नेतृत्वको सरकारले रातारात प्रहरी नियमावली संशोधन गरेर नेपाल प्रहरी अस्पतालका एआइजीपी डा. दिनेश चन्द्र पोखेललाई निमित्त प्र.महानिरीक्षक तोक्यो |  यसरी बरियता, कार्यकुशलता ,कार्यक्षमता मिचेर प्र.महानिरीक्षक चयन गर्दा प्रहरी संगठनको कुनै एउटा सदस्यले हाम्रो होइन कुनै दल विशेषको प्र.महानिरीक्षक हो भनेर आदेश पालना नगर्ने अवस्था आयो भने अन्यथा नसोच्दा हुने भयो |

   देउवा जी तपाईँ आफ्नो जीवनको उतरादमा हुनुहुन्छ ! कम्तीमा देश र जनताले सम्झन लायक नेता बन्नुस | जीवन एकपल्ट पाईने हो ! जिउदो हुँदा नै राम्रो काम गर्नु भयो भने मरे पछि पनि तपाईँको कामको मुल्याङकन ईतिहासमा हुनेछ | नेपाल  प्रहरी "चेन अफ कमाण्ड" नभत्काउनु होस् | क्षेत्र, वर्ग , जातजाति लिङबाट माथि उठेर सम्पूर्ण नेपालीको नेता बन्ने प्रयास गर्नुहोस् |
  नेपाल प्रहरी एउटा अनुशासित संगठन हो | फौजमा अनुशासन महत्त्वपूर्ण हुन्छ | प्रहरी भित्र यही किसिमको गलत  राजनैतिक हुदै जाने र सरूवा बढुवा नियुक्तीमा विधि नियम कानुन मिचेर राजनैतिक हस्तक्षेप गर्न थालीयो भने भोलिको दिनमा ७२००० जनशक्ति रहेको प्रहरी संगठनमा एउटाको आदेश अर्कोले नमान्ने अवस्था आउन सक्छ \ प्रहरी महानिरीक्षक भनेको सम्पूर्ण  प्रहरी कर्मचारीहरू अभिभावक हो ,नेता हो | जसको अनुसरण मातहतका प्रहरी कर्मचारीहरूले यदि आफ्नो अभिभावक प्रति विश्वास नहुने अवस्था अयो भने प्रहरीले कुन मनोबलले काम गर्छ ! अरूलाई मुस्कान सहितको सेवा दिने भनी लागि परेको प्रहरी संगठनका सदस्यले आफ्नो अन्यौल भविष्यको वावजुद कसरी मुस्कान सहितको सेवा दिएर जनताको जिउँधनको सुरक्षा एवम् समाजमा शान्ति सुरक्षा अमनचयन कसरी प्रदान गर्न सक्छन |

   यसरी राजनैतिक नेतृत्वले  राम्रो होइन हाम्रो मान्छे भन्ने प्रवृत्ति बढ्दै जाने हो भने भोलिका दिनमा सम्पूर्ण प्रहरी कर्मचारीले बन्दुक बोकेर डयुटी गर्नु को साटो राजनैतिक दलका नेताको ढोका कुर्ने स्थिति आउँछ |

    याद गर्नुस देउवा जी नेपाल प्रहरी भनेको तपाईँको पाटीको भातृ संगठन तरुण दल होइन न कि ने .वि.स ! यो एउटा गरिमामय ईतिहास बोकेको विशुद व्यवसायिक स्वतन्त्र कानुनको पालाना गराउने निकाय हो !  यो निश्चित मूल्य मान्यता विधि र शासनले र सिद्धान्तले चलेको हुन्छ !
  केही अखबारहरुमा सम्मानित प्रधानन्याधीस शुशिला कार्की  महाअभियोग लगाएर हटाउने तयारी भन्ने खबर पनि बजारमा आईरहेको छ !  अत म तपाईँलाई पूर्व प्रहरी अधिकृतको नाताले अनुरोध गर्दछु ! अदालत एउटा स्वतन्त्र न्यायपालिका हो भन्ने कुरा नबिसनुहोला! अदालतको आदेशलाई सम्मान गर्नुस! सर्वोच्च अदालतले आँउदो ८ गते प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा टुङ्गो लगाउने अन्तिम फैसला मार्फत !

 देउवा जी , प्रहरी संगठन माथीको हस्तक्षेप बन्द गर्नुस! व्यवसायिक छवि बनाउँदै गरेको प्रहरी संगठनलाई व्यवसायिक हिसाबले अघि बढ्न दिनुस! भोलिको दिनमा ईमान्दार वफादार अनुशासित कर्तव्यनिष्ठा भएर देश र जनताको सेवा गरेमा उच्च पदमा पुग्न सकिन्छ भन्ने मान्यतालाई आम प्रहरी कर्मचारीहरूको मुल मन्त्र बन्न सकोस् ! न कि  ब्रिफकेश बोकेर बुढानिलकण्ठ दरबार जानु पर्छ भन्ने मान्यताको अन्त्य होस् !

जुन कार्य वरिष्ठता,कार्यकुशलता,नेतृत्व वहन गर्न क्षमताको मुल्याङकन हुँदैन भने नवराज सिलवालले CIB मा रहेर किन राम्रो काम गर्ने ? सर्बेन्द्र खनाल जस्ता होनहार प्रहरी अधिकृतले महानगरीय अपराध अनुसन्धानमा बसेर किन देश र जनताको लागि काम गर्न ! यदि वढुवाको लागि राजनैतिक दलको ढोका ढक्ढकाउनु पर्ने नै हो भने राजनैतिक दलका नेताको तथास्तु चाहिँने नै हो भने देशको शान्ति सुरक्षाको अवस्था थप जटिल अराजक बन्दै जानेछ भन्ने कुरामा कसैको दुईमत नहोला !

   अन्तमा देउवा जी , जनतालाई न्याय दिने प्रहरी आफै न्यायको खोजीमा अदालतमा जानुपर्ने र प्रहरीलाई जुन विवादमा तानेर अदालत सम्म पुर्याउनु भएको छ र राजनैतिक ठाडो हस्तक्षेप गरेर प्रहरी संगठनमा गम्भीर आँच आउने गरी "चेन अफ कमाण्ड "भत्काउनु भएको छ यसको मुल्याङकन आम नागरिकले अवश्य गर्ने छन् !

  सम्पूर्ण आम नेपाली दाजु-भाई ,दिदी-बहिनी , आमा-बुवाको नेता बन्ने प्रयास गर्नुहोस्  मेरो शुभकामना !  धन्यवाद !!!

                         सन्तोष श्रेष्ठ
                   पूर्व प्रहरी अधिकृत
                 हाल संयुक्त राज्य अमेरिका