सप्तरीमा नेतृत्वलाई समाप्त पार्ने दुराशय थियोः एमाले


काठमाडौं २४ फागुन - नेकपा एमालेले सप्तरीमा पार्टीको नेतृत्वको सामूहिक हत्या गर्ने षड्यन्त्र भएको दाबी गरेको छ ।
सप्तरी घटनाको विषयलाई लिएर मंगलवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष भीम रावलले एमाले नेतृत्वलाई समाप्त पार्ने दुराशय रहेको आरोप लगाएका हुन् ।

एमाले कार्यक्रममा बम समेत फाल्ने मोर्चाको योजनाले एमालेको नेतृत्व समाप्त पार्ने योजना रहेको पुष्टि हुने दाबी गरे ।

‘एमालेको सभालाई तीनतिरबाट घेराउ गर्ने, गाउँ गाउँमा गएर भाला र लठ्ठी ल्याउन लगाउने र बम समेत राख्ने कुराबाट एमाले नेतृत्व पंक्तिलाई समाप्त गर्ने दुराशय थियो भन्ने स्पष्ट हुन्छ,’ रावलले भने, ‘त्यो कुरालाई नेपाली जनताले समेत थाहा पाउनुपर्छ भनेर यहाँ भनेका हौं ।’

‘सप्तरीको सिडिओ र डीएसपीको सरुवाले आशंका बढायो’

एमालेले सप्तरीमा सोमवार भएको घटनालाई लिएर सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखको सरुवा गर्ने गृहप्रशासनको निर्णयले आशंका थपेको बताएको छ ।

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्य गर्नुपर्नेमा सरुवा गरिनुले आशंका बढाएको बताएका हुन् ।

‘सुरक्षा प्रबन्ध थप व्यवस्थित गरेर परिस्थितिलाई सामान्य गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई फिर्ता बोलाउने गृह प्रशासनको निर्णयले आशंका बनाएको छ,’ भट्टराइले भने ।

सप्तरीमा पचासौं पेट्रोल बम हानियो

पत्रकार सम्मेलनमा एमाले महासचिव ईश्वर पोखरेलले सप्तरीमा एमालेको कार्यक्रमपछि पचासौं पेट्रोल बम हानिएको दाबी गरे ।

एमालेको कार्यक्रम सकिएपछि मोर्चाका कार्यकर्ताको आक्रमणबाट ४५ जना सुरक्षाकर्मी घाइते भएको उनले बताए ।
‘एमालेको सभा सकिएलगत्तै पचासौं पेट्रोल बम प्रहार गरियो, सुरक्षाकर्मीमाथि हमला गरियो, ४५ जना सुरक्षाकर्मी घाइते छन्,’ पोखरेलले भने ।

एमाले महासचिव पोखरेलले सुरक्षाकर्मीको सुझबुझपूर्ण कार्यका कारण सप्तरीमा ठूलो क्षति हुन नपाएको बताए । उनले मधेशी मोर्चाका अराजक क्रियाकलापका बावजुद एमालेको अभियान जारी रहने बताए ।

‘संविधान र लोकतन्त्रको रक्षाको खातिर एमालेको अभियान रोकिँदैन, अराजनीतिक क्रियाकलापका विपक्षमा उभिन्छ,’ उनले भने, ‘संवेदनशीलतालाई हेरेर केही दिन स्थगित भएपनि मेची–महाकाली अभियानको कार्यक्रम जारी रहन्छ ।’

मेची–महाकाली अभियान २७ देखि 

नेकपा एमालेले तीन दिनका लागि रोकिएको मेची–महाकाली अभियान फागुन २७ गतेदेखि पुनः अगाडि बढाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनको आयोजना गरी एमालेले २७ गतेदेखि मेची–महाकाली अभियान पुनः सुचारु गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले मधेशी मोर्चाका कारण सप्तरी घटना भएको दाबी गरे । लोकान्तरमा प्रकाशित छ |

,