मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएन, एक हप्ता पर्खने



काठमाडौं, २४ फागुन - मधेशी मोर्चाले सरकारलाई एकहप्ते अल्टिमेटम दिएको छ । एक हप्तासम्म पनि आफूहरूका माग पूरा नभएमा सरकारलाई दिएको समर्थन फिर्ता लिइने मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले बताए |

आज बसेको मधेशी मार्चाको बैठकले आउँदो एक हप्तामा सरकारको ‘मुभ’ हेरेर मात्रै सरकारको समर्थन फिर्ता लिने बताएको हो । एक हप्तासम्म सप्तरी घटनाको विषयमा सरकारको काम कारबाहीलाई हेर्ने मोर्चाले जनाएको छ ।
मधेशी मोर्चाले सप्तरी घटनाको बारेमा छानबिन गरिनुपर्ने माग गरेको छ । नेकपा एमालेले गरेको सभामा सप्तरीमा मुठभेड हुँदा मधेशी मोर्चाका तीन कार्यकर्ताको ज्यान गएको थियो ।

आफ्ना कार्यकर्ताको ज्यान गएपछि मोर्चाले सरकारसँग विभिन्न मागहरू राखेको छ ।

मोर्चाले मृतकलाई शहीद घोषणा, घाइतेको उपचार खर्च लगायतको ग्यारेन्टी हुनुपर्ने माग गरेको छ । घटनाको बारेमा छानबिन आयोग गठन हुनुपर्ने, सप्तरीका सिडिओ, एसपी र सशस्त्रका डिएसपीलाई निलम्बन गरिनुपर्ने लगायतका माग गरेको छ ।

त्यस्तै संविधान संशोधन विधेयकलाई संशोधन सहित पारित गर्न समेत माग गरेको छ ।

,