मिर्गौला प्रत्यारोपण वैशाखदेखि निःशुल्क


काठमाडौँ, फागुन २७

सरकारले स्वास्थ मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने तयारी गरेको छ ।  मन्त्रालयले आगामी वैशाख १ बाट स्वास्थ्य कर कोषको रकम प्रत्यारोपण खर्च गर्ने गरी निःशुल्क मिर्गौला प्रत्यारोपणको शुरूवात गर्न लागेको हो ।
जिन्दगीभर डाइलासिस गराउनुभन्दा दुई वर्षको डायलासिस खर्चले प्रत्यारोपण सम्भव भएपछि मन्त्रालयले निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषमा जम्मा भएको रकमले निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी गरेको जानकारी दिए।  थापाले २५ करोड रुपियाँ अर्थबाट स्वास्थ्य मन्त्रालयमा जम्मा भइसकेको जानकारी दिँदै अब ५० करोड रुपियाँ जम्मा हुन बाँकी रहेको बताए। सरकारी अस्पतालबाट मात्रै निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिँदै मन्त्री थापाले डायलासिसभन्दा प्रत्यारोपणमा खर्च कम लाग्ने बताए।
सरकारले डायलासिसका लागि एक पटकमा तीन हजार रुपियाँ व्यहोर्दै आएको छ ।  बिरामीले हप्तामा दुईदेखि चार पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।  डायलासिसमा कम्तीमा हप्ताको दुई पटकका दरले मात्र हिसाब गर्ने हो भने पनि मासिक २५ देखि ३० हजार रुपियाँ लाग्छ ।  हाल सरकारले एकजना मिर्गौला फेल भएको बिरामीलाई कम्तीमा पनि वार्षिक तीन लाख रुपियाँभन्दा बढी खर्च गरिरहेको छ ।  हाल सरकार अन्तर्गत रहेका मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालबाट मिर्गौलाको प्रत्यारोपण हुँदै आएको छ ।
मन्त्री थापाले प्रत्यारोपणपश्चात् पनि बिरामीले मासिक २० हजार रुपियाँभन्दा बढीको औषधि सेवन गर्नुपर्ने भन्दै मन्त्रालयले विश्वमा नाम चलेका औषधि कम्पनीबाट धेरै सस्तोमा औषधिको व्यवस्था गर्न लागिएको जानकारी दिए। विश्वका विकसित देशले धेरै सस्तोमा अफ्रिकी मुलुकमा पनि औषधि उपलब्ध गराएको रहेछन्, मन्त्री थापाले भने, ‘नेपालमा पनि औषधिको लागि मैले पहल गरेको छु, चाँडै नेपालीले क्यान्सर, मिर्गौला, मुटु लगायतका रोगको औषधि धेरै सस्तोमा पाउनेछन्।’
मिर्गौला निःशुल्क प्रत्यारोपणको अर्थ सबैथोक सरकारले गरिदिने र जनताले आफ्नो स्वास्थ्यका लागि जे गरे पनि हुने भन्ने होइन, मन्त्री थापाले भने, ‘जनता पनि आफ्नो स्वास्थ्यको लागि थप चनाखो हुनुपर्छ।’
सरकारले उपचार गरिहाल्छ, भनेर खानपिनमा ध्यान नदिने, व्यायाम नगर्ने, शरीरलाई मेन्टेन नगर्ने हो भने चाँडै रोगले समाउने भन्दै व्यक्तिले पनि स्वास्थ्यको ख्याल गर्नुपर्ने बताए।  मिर्गौलासम्बन्धी परीक्षण दुई सय रुपियाँमा हुने भन्दै समय–सयममा मिर्गौला लगायत सम्र्पूण स्वास्थ्य परीक्षण गर्न सुझाव दिए।
मन्त्री थापाले मन्त्रालयले केन्द्रमा भन्दा पनि अञ्चल अस्पतालबाट पनि डायलासिस सेवा मिलाउन आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए। धनगढीको व्यक्ति काठमाडौँमा उपचार गराउन आउन सक्दैन भन्ने उद्देश्यले सरकारले अञ्चल अस्पतालहरूमा डायलासिसको व्यवस्था गर्न लागेको मन्त्री थापाले बताए। यसैबीच बिहीबार विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
सोही अवसरमा स्वास्थ्य मन्त्रालय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर र आरोग्य प्रतिष्ठानले मिर्गौला रोगसम्बन्धी विभिन्न जनचेतनामूलक ¥यालीको आयोजना गरी विश्व मिर्गौला दिवस मनाएको छ ।  ¥यालीपछि खुलामञ्चमा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, अङ्गदान तथा निःशुल्क मिर्गौला शिविरको व्यवस्था गरिएको थियो ।  सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले नेपालमा स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोगको उपचारमा सरकारले ठूलो सहयोग पुर्‍याएको बताए। आरोग्य प्रतिष्ठानकी अध्यक्ष तथा गायिका आनीछोइङ डोल्माले मिर्गौला रोगबारे सर्वसाधारणमा चेतना जगाउनुपर्नेमा जोड दिए।

,