श्रीमानलाई सम्झेर गाउँको मुहार फेर्नेछु -माया राना


थर्पु, तनहु । नेपाली कांग्रेसकी महिला नेतृ माया रानाले पतिको सपना साकार पार्न आफु अघि बढ्न तयार रहेको बताएकी छन् ।

म्याग्दे गाउँपालिकाका कार्यकर्ताहरुबीच नेपाली कांग्रेसले आयोजना परेको परिचयात्मक कार्यक्रममा बोल्दै पार्टीका उप सभापति स्वर्गीय ताराराज रानापत्नी मायाले सबैको साथ पाए आफु अघि बढ्ने भन्दै घुमाउरो पारामा गाउँपालिका प्रमुखको नेतृत्वका लागि इच्छुक भएको संकेत गरेकी हुन् ।

उनले आफ्ना पतिले गाउँपालिका क्षेत्रलाई विकासमा अघि बढाउने सपना पालेको भन्दै आफुले त्यसलाई पुरा गर्ने बताइन् । ‘अब मैले रोएर हैन सबैको सहयोग लिएर अघि बढ्ने छु,’ उनले भनिन् ।
उनले भनिन,"अब म श्रीमानलाई सम्झेर  गाउँको बिकासमा सक्रिय हुनेछु | गाउँको मुहार फेर्नेछु |"

गाउँपालिकाको प्रमुखमा रानाको नाम अघि आइरहँदा रानाले भने औपचारिक रुपमा मुख खोलिसकेकी छैनन् । यद्यपि पार्टीका नेता कार्यकर्तामाझ रानालाई नेतृत्व दिएर अघि बढाउन सकिए चुनावमा जीत सुनिश्चित रहेको चर्चा चल्ने गरेको छ ।

नेपाली कांग्रेस साविक छाङ गाउँ कार्य समिति सभापति प्रेम थापाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै पार्टी सभापति बैकुण्ठनाथ न्यौपानेले चुनावी प्रावधानबारे कार्यकर्तालाई जानकारी गराएका थिए । उनले चुनावमा निर्वाचन हुने पदहरु, प्रतिनिधि संख्या तथा समावेसि पदहरुबारे कार्यकर्तालाई जानकारी गराएका थिए । पार्टी संगठन विभाग प्रमुख बालकृष्ण घिमिरेले अर्काका लागि लबिङ नगर्न कार्यकर्तालाई सुझाव दिए ।

महाधिवेशन प्रतिनिधि एवं महिला नेतृ माया रानाले सबैले साथ दिए आफ्ना पति स्वर्गीय पार्टी उप सभापति ताराराज रानाको सपना पुरा गर्न आफु अघि बढ्ने बताइन् । उनले त्यस क्षेत्रको विकासका लागि पति ताराराजले देखेको सपना पुरा गर्ने अभिलाषा प्रकट गरिन् ।

कार्यक्रममा पार्टी क्षेत्रीय सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, नेताहरु रामबहादुर अधिकारी, जुक्तराज वाग्ले लगायतले पार्टी संगठनका बारेमा बोलेका थिए । थर्पु बजारमा गरिएको कार्यक्रममा करिब एक हजारको संख्यामा कार्यकर्ताको उपस्थिती थियो । कार्यक्रममा युवा कार्यकर्ताको पनि बाक्लो उपस्थिती देखिएको थियो ।

, ,