लोक दोहोरीगीत संगीतको बिगत र वर्तमानको अबस्था

मिन दर्लामी 

गीत संगीतको कुरा गर्दा सबै भन्दा पहिलो स्थानमा पर्ने लोक संगीत बिधा नै हो भन्दा फरक नपर्ला । लोक संगीत यस्तो बिधा हो जसले नेपाली ग्रामीण समाजको संस्कार, परम्परा रीतिरिवाज र संस्कृतिलाई उजागार गरेको हुन्छ । लोक संगीतको बिधा मध्यको एउटा पाटो लोक दोहोरी गीत हो जसले समाजमा घटेका घट्ना, समय परिस्थिती र माहोल हेरीकन पक्ष बिपक्ष बिच खेलिने प्रत्यक्ष दोहोरी हो । दोहोरी गीत गाउने कलाकारहरूलाई आशु कवि पनि भन्ने गरिन्छ किन भने लोक दोहोरी गाउदा तत्कालै जवाफको सवाल फर्काउनु पर्ने हुंदा यो सहज बिद्या होइन । जो कोहीको वसको बिधा पनि नभएकोले कलाकार गायक गायिकालाई आशुकवि भनिएको हो । लोक दोहोरी गीतका शब्दहरूमा हाँसो, आँशु खुसी, रोदन सबै मिश्रित यथार्थपरक तर काल्पनिक रूपमा माहोल हेरेर गायक गायिकाले शब्द जालमा बुनेर लोक दोहोरी गीत सुन्ने र हेर्ने दर्शकहरूलाई यथेष्ट मनोरन्जन दिने गर्दछन ।

पहिले पहिले लोक दोहोरी गीतहरू गाउघरमा मेला, महोत्सव हुदा वल्लो पल्लो गाउका सबै जम्मा भएर निश्चित तोकिएको रोधीघरमा दोहोरी खेल्ने, रोधी बस्ने गरिन्थ्यो । रोधी बसेर हार जीतको फैसाला नहुन्जेल सात दिन सात रात सम्म पनि रोधी चल्दथ्यो रे... भनाईमा सुन्ने गरिन्छ । गीत गाएर जसले जित्छ उसैले बिहे गरी लैजाने गरिन्थ्यो रे... केटाले जिते केटीलाई बिहे गरी लाने र केटीले जिते केटो केटीको घरमा घरज्वाई भएर बस्नु पर्ने प्रचलन थियो भन्ने भनाई पनि छ । हामीले बुझ्ने हुदा पनि केही मात्रमा प्रचलनमा थियो र वल्लो पल्लो गाउका केटा केटी ( तरूनी तन्नेरी ) जम्मा भएर कुनै एकान्त ठाउको घर, गोठ, बंगालोमा बसेर झाम्रे गाउने चलन पनि थियो । तर त्यो चलन र संस्कृतिलाई २०५२ साल पछी देशमा बढेको अशान्तीसंगै गीत संगीतको फाँटमा पनि असर पर्यो र पुराना संस्कार र चलनहरू हराउदै जान थाले । तथापि पहिले पहिले गाउमा बस्ने रोधी चलन चल्तीलाई देशमा बढेको २०५२ साल पछी देशको परिस्थितिले बिस्थापित गरे पनि शहरका सिमित ब्यक्तिहरूको मनोरन्जनका लागि परिमार्जित दोहोरी साँझको नामबाट स्रोताहरूलाई प्रत्यक्ष मनोरन्जन दिन थालियो । परम्परागत रूपमा गाउमा रोधी बस्ने प्रचलनलाई ब्याबसायिक रूपमा दोहोरी साँझमा परिबर्तन गर्दै यसलाई निरन्तरता दिदै आईएको छ र केही कलाकारहरूलाई रोजगारको माध्ययम बनेको छ ।

पहिले सीमित व्यक्तिहरूका गीत संगीतहरू रेडियो नेपालबाट प्रसारण हुने गर्दथ्यो । गीत सुन्ने माध्यम भनेको रेडियो नेपाल मात्रै र क्यासेट कम्पनि पनि म्युजिक नेपाल मात्रै थियो । र त्यही कम्पनिबाट निस्किएको अडियो क्यासेट किनेर क्यासेट प्लेयर (टेप्रीकट) मा सुन्ने चलन थियो । तर २०५२/५३ पश्चात नयाँ नयाँ कलाकारहरूका गीत संगीतहरू रेडियो नेपालमा मात्र सिमित नभई देशका बिभिन्न ठाउमा खुलेका एफ.एम. रेडियोहरूबाट पनि बज्न थाले । कलाकारहरूको आगमन पनि दिन प्रर्ती दिन बढ्दै जान थाल्यो र कलाकारहरूलाई सांगीतिक फाँटमा अबसरहरू पनि बढाउदै लग्यो । गीत बजार ब्यबस्थापन गर्ने म्युजिक नेपालको एकाधिकार तोड्दै दर्जनौ म्युजिक कम्पनिहरू खुले र म्युजिक नेपालसंग प्रतिस्पर्धा गर्न थाले । २०५५ साल देखी २०६५ साल सम्म गीत संगीत र कलाकारहरूको आँधीबेरी आयो र लोक दोहोरी गीतमा कायापलट नै भयो । झण्डै १० बर्षको अबधीमा धेरै कालजयी गीतहरू सृजना भए र सुमधुर आवाजका नयाँ नयाँ कलाकारहरूको सांगीतिक फाँटमा आगमन पनि भयो । जुसले गर्दा २०५२ साल भन्दा पहिले गाउ घरको मेला पर्वमा र रोधी घरमा सीमित लोक दोहोरी गीत ग्रामीण क्षेत्रका पाखापखेरा कुना काप्चा हुदै शहरी क्षेत्रमा मात्र होईन बिदेशका ठूला ठूला शहर सम्म आफ्नो पहुँच पुर्याउन सफल भएको छ । देश देखी बिदेश सम्म नेपालीहरूले विशुद्ध नेपाली लोक दोहोरी गीत सुनेर, हेरेर यथेष्ट मनोरन्जन लिन पाई रहेका छन् ।

लोक दोहोरी गीत संगीतको हालको अबस्थालाई पनि कोट्याउनै पर्दछ । जुन अहिलेको गीत संगीतको फाँटको वास्तविकता पनि हो । २०५५ साल पश्चात २०६५ साल सम्म कलाकार, गायक, गायिका, प्रस्तुतकर्ता, सर्जक, बजार ब्यबस्थापक, क्यासेट डबिँग कम्पनी, क्यासेट होलसेल, क्यासेट खुद्रा ब्यापारी देखी हरेक तह र तप्काको एक मात्र रोजीरोटी बनेको थियो गीत सँगीत । तर जब २०६५ पछी केही सीमित स्वार्थ बोकेका व्यक्तिहरूको लागि भित्रिएको CRBT, PRBT लगायत र डिजीटल प्रबिधिले गर्दा कलाकार सर्जक देखी उत्पादक कम्पनि र बजारमा बिक्री बितरण गर्नेहरूको पुरै खुसी लुटिएको छ । नाम चलेका उत्पादक कम्पनिहरू, क्यासेट बिक्री बितरण गर्ने खुद्रा पसलहरू देखी सर्जकहरूको २०६५ साल पछि ढोकामा ताल्चा लागेको लाग्यै छ । मात्र अहिले चलेका सीमित कलाकारहरुले अहिले हुने गाउँ गाउँ जिल्ला जिल्लाका मेला महोत्सवले गर्दा, बिदेशबाट हुने निमन्त्रणाले आफ्नो दैनिकी राम्रै चलाएका छन र मनग्य पैसा कमाएका छन । मेला महोत्सवहरूमा सबै कलाकार भन्दा पनि आफ्ना नजिकका र मन पर्ने कलाकारहरूलाई मात्र स्थान दिईने गरेको केही कलाकारहरूको गुनासो पनि सुनिने गर्दछ ।

  गीत संगीतमा तितो तर सत्य एथार्थ पनि लुकाएर लुक्दैन । गीत चलोस नचलोस तर गीतहरू बजारमा आउन छोडेका छैनन् । कम्पनिहरू पनि खुलेका खुल्यै छन, पहिले कम्पनिहरूका ठूला अफिस हुन्थ्यो, गीत संगीतबाट मनग्य आम्दानी हुन्थ्यो तर आज भोलि लगानी ठूलो छ । गीतमा लगानी गरेको फिर्ता आउने केबल सपना देख्नु सरह हो । खल्ती खाली गरेर लगानी गरे पछि खालि खल्तीमा आफ्नो म्युजिक कम्पनीको अफिस बनाउने प्रचलन बढेको छ । प्रचारको लागि सामाजिक सन्जाल फेशबुक र युट्युब अकाउण्ट एउटा सजिलो माध्ययम बनेको छ । गीत संगीतमा वास्तविकता त यस्तो छ की प्रवासमा बसेर गीत संगीतलाई माया गर्नेहरूले आफ्नो कमाईलाई गीत संगीतमा लगानी गरी रहेका छन र त्यही कारणबाटै गीत संगीतलाई धानी रहेका छन । कलाकारहरूको अहिलेको कमाई अनुसार एउटा गीत पुर्ण हुनलाई रू.१ लाख बराबर आबश्यक पर्ने भएकोले बिना लगानीकर्ता कलाकारहरूले चाहेको बेला नयाँ गीत गर्नलाई आँट गर्न सक्ने अबस्था पनि छैन ।

लोक दोहोरी गीत प्रत्यक्ष र तत्कालै वाद, प्रतिवाद गर्ने र गर्न सक्ने भएकोले कलाकार गायक गायिकालाई आशु कबि भनेर सम्बोधन गरीए पनि हालको सांगीतिक अबस्थालाई नजिकैबाट नियालेर हेर्दा कलाकार सर्जकहरूलाई हाँसो भन्दा पनि आँशु बढी प्राप्ति छ ।

यसको बारेमा सम्बन्धित संघसंस्था र सरकारबाट कुनै चासो नहुदा कतिपय क्षमतावान कलाकारहरू बिदेश पलाएन भएर प्रवासमा जीवन बिताई रहेका छन भने कतिपय कलाकारहरू आफुसंग कला र गलाको क्षमता हुदा पनि शहरको कोठामा सधैका लागि ताल्चा ठोकेर आफ्नै बिरक्तिएको दयनिय जिन्दगी गाउँ पाखा मै बिताउन बाध्य भएका छन । कतिपय चर्चित कलाकारहरू त कुलतमा फसी सकेका छन ।

यसैको उदाहरण हो चर्चित प्रत्यक्ष लोक दोहोरी गायक सागर बोहोरा । जसका दोहोरी गायकी र मन छुने शब्द सुनेर सबै लालयित हुने गर्दथे र मन्दमस्तले खुलेरै सागरको तारिफ गर्ने गर्दथे । तर गीत संगीतबाट आफुले सोचे जस्तो नभए पछी मदिरा सेवन नै आफ्नो साथी भनेर कुलतमा लागे पछी गाउमा फर्किएर काल कुरेर दिन गन्दै बस्दै गरेको सागर बोहोरालाई हामी प्रबासमा बस्ने साथीहरू र नेपालमा रहनु हुनेहरूको बिशेष पहलमा ग्राण्डी हस्पिटलमा १६ दिनको बिशेष उपचार पश्चात हाल रानीबारी स्थित नेपाल प्रहरीको प्रत्यक्ष निगरानी संचालन गरिएको सुधार केन्द्रमा ३ महिनाको लागि राखेर उपचार गराई रहेका छौ ।
त्यसैले सागर बोहोरा उपचार अभियानमा सहयोग गर्नु हुनेहरू नेपालबाट गोमा थापा, दुर्गा पौडेल, समाजसेवी जुनु पुन, रेशम बोहोरा, गणेश जि सी., नेपाल राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठान, पृथ्वी थकाली, फुलमाया फाउण्डेशन मार्फत बिरही कार्की, नेपाल राष्ट्रीय लोक तथा दोहोरीगीत प्रतिष्ठापना अध्यक्ष बद्री पँगेनी, रमेश बि.जी, बसन्त थापा, राजु परियार, नेत्र भण्डारी, गीता रेउले, पुर्णकला बिसी, पुष्कल शर्मा, रामचन्द्र चन्द, पुर्ण राना मगर र एकमाया थापा यु.के., लगायत अन्य सहयोगीहरूमा जापानबाट ठुलो आर्थिक सहयोग गर्नु हुने रामकृष्ण बम मल्ल, युबराज आचार्य, ऋषी पौडेल, प्रेम कुमार बस्नेत, नारायण कँडेल, सुर्य खड्का, बिनोद भण्डारी, कुलबिर थापाको पहलमा ओसाका जापानको नेपाली समाज, अरब भूमीबाट पहल गर्ने चित्र के.सी. र लोक श्रीस अनि दुबै, कतार, साउदी, मलेसियाका शुभ चिन्तकहरू, साथै अमेरिकाबाट बिमल डांगी, सुमन बुढा मगर, सन्तोश खत्री, खेम पुन, दिपेन्द्र आले मगर लगायतले हाम्रो सानो प्रयासमा आर्थिक तथा भौतिक सहयोग साथै बिभिन्न सहयोग गरेर हामीलाई ठुलो गुन लगाउनु भएकोले यहांहरूको सहयोगी मनलाई अन्तर आत्मा देखी धन्यबाद र नमन गर्न चाहन्छु ।
mindarlami31@gmail.com


                                                        जय गीत जय संगीत ।
( अमेरिकाको सिकागोमा रहेका लेखक मिन दर्लामी सर्जक तथा गायक हुन् | सम्पादक)

, , ,