कान्तिपुर गाथा : कान्तिपुर मेयरमा बाबुराम -किशोर नेपाल


देशमा स्थानीय तहको चुनाव चहकिँदै छ। कनिका भर्खरै उपत्यकाका सीमावर्ती गाउँ र नगरपालिकामा चुनावी चहल–पहल हेरेर फर्किएकी छ। उसले देखेकी छ – जो गाउँ थिए, ती नगरमा परिणत भएका छन्। जो नगर थिए ती उपमहानगर बनेका छन्। जो उपमहानगर थिए ती महानगर भएका छन्।

कनिकालाई चुनाव भन्दा पनि चुनाव समाचारको कलर चाहिएको थियो। चुनावी समाचार सजाउन ऊ कलरको खोजीमा थिइ। अघिल्लो पल्ट भरतपुर आउँदा ऊ विशाल सडक जाममा परेकी थिइ। त्यो सडक जाम नै उसको समाचारको मुख्य विषय थियो। यसपटक भने ऊ विमानबाट भरतपुर उत्रेकी थिइ। त्यसपछि कलैया, वीरगन्ज, हेटौडा र पालुंगमा चुनावी चहल पहल हेरेर सिमरा फर्केकी थिइ। त्यसपछि आइपुगेकी थिइ कान्तिपुर।

शहर पस्ने बित्तिकै धूलोको आक्रमणमा परेकी कनिका कान्तिपुरमा मेयरका लागि उपयुक्त पात्रको खोजीमा थिइ। त्यस्तो पात्र भेटिए उसको पक्षमा जनमत बनाउने सुर थियो उसको। उसका आँखा अगाडि एकसेकम चमकदार व्यक्तित्वहरु चम्किइ रहेका थिए। तर, उसको मन र आँखा ती मध्ये कसैमा पनि स्थिर हुन सकेका थिएनन्। अनुहारमा सारै राम्रो मेकअप गरेकी तर फुटेर चिरिएका कुर्कुच्चा मोजाले छोप्न बिर्सेकी सुन्दरी जस्ता थिए सबै। त्यसपछि उसले निकै बेरसम्म दिमागमा जोड दिएर सोची। केही बेरपछि उसको दिमागमा नाउँ फुर्‍यो– बाबुराम भट्टराई। हो, उनै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई।

कनिका आफनो कल्पनाशीलतामा आफैं दंग परी। कान्तिपुर महानगरपालिका सबै महानगर, उपमहानगर र नगरपालिकाहरुको पिता भएकोले यसको पावर असाध्यै धेरै छ। यस्तो स्वायत्त संस्थाको नेतृत्व लरतरो मानिसबाट हुनै सक्दैन। यसका लागि डा. बाबुराम नै चाहिन्छ। उनीभन्दा शक्तिशाली मानिस अर्को हुन सक्दैन यो पदको लागि। पहिलो त उनी जन्मिए हुर्के बढे गोर्खामा। काठमाडौ आए। पढ्न गए दिल्ली। त्यहीं उनले काठमाडौंकी केटीसँग लभ गरे। कान्तिपुर भयो उनको ससुराली। उनका ससुरा पनि राजनीतिज्ञ। तर, राजा पक्षका। राजाले जे भने पनि मान्ने। डा. साहेबलाई त मतलबै भएन। डा. साहेब क्रान्तिको मैदानबाट कान्तिपुर आएपछि पो थाहा पाए त ससुरालीको महत्व। उनको रौनक त्यत्तिकै बढ्यो।

कान्तिपुरलाई सुन्दर बनाउन डाक्टर साहेबले प्रधानमन्त्री भएको बेलामा धेरै काम गरे। शहरका बाटाघाटा फराकिलो बनाए। पार्क पनि बनाए। धूलो पनि उडाए। उनले शहर पनि बुझेका थिए र शहरको सुविधा पनि बुझेका थिए। बाबुराम 'बर्मुचा' भएपनि शहरियाहरुले उनलाई आफनो ज्वाईँको रुपमा स्वीकार गरेका थिए। बाबुराम शहर राम्रो बनाउँदै थिए, २०७२ सालमा भुईंचालो आयो। भुईंचालोपछि बाबुराम पुननिर्माणको नेतृत्व गर्न पनि तयार थिए। त्यतिबेला उनलाई पत्याएको भए अहिलेसम्म रानीपोखरीमा पानी भरिइसक्ने थियो, अहिलेको रानीचौरको हालत हुने थिएन।

त्यसपछि, २०७३ सालमा संविधान आयो। संविधान आउने बित्तिकै डाक्टर लागे नयाँ शक्तिको खोजीमा। अंग्रेजले नेपालमा आएर ‘खुला दिसामुक्त क्षेत्र’ खोजे जस्तै डेढ वर्षजति उनी शक्तिको खोजीमा नै रन्थनिए।

स्थानीय तहको चुनाव घोषणापछि अहिले शक्तिको त्यो खोज टुंगिएको छ। स्थानीय तहको चुनावमा डाक्टर लागेका छन् अरुलाई उम्मेदवार उठाउन। शक्तिका लागि त उनी आफैं पो उठनु पर्छ कान्तिपुरको मेयरमा। कान्तिपुर शहर मात्रै होइन। यो त हाम्रो पुर्खादेखिको गौरव हो। हाम्रो देश नेपालले कमाएको सय प्रतिशत मध्ये पचहत्तर प्रतिशत आम्दानी कान्तिपुरकै ढुकुटीमा जान्छ। प्रोटोकलमा पनि प्रधानमन्त्रीपछि कान्तिपुरको मेयर नै हुनु पर्दछ। बरु प्रदेशको मुख्यमन्त्री र काठमाडौंको मेयर एकैजना बनाए पनि राम्रो।

देशको मुहार हँसिलो बनाउने हो भने बाबुराम भट्टराई कान्तिपुरको मेयरमा उठनुको विकल्प छैन। उनले मात्रै पार लगाउन सक्दछन् कान्तिपुरको बेडा । कान्तिपुर भनेकै बाबुराम, बाबुराम भनेकै कान्तिपुर लेखिएका फ्लेक्सहरु चारैतिर टाँसिएपछि कति सुन्दर देखिने छ यो नगर। बाबुराम देशका लागि जस्तोसुकै त्याग गर्न तयार भएका नेता हुन्। देशका लागि उनी कान्तिपुरका मेयरमा उम्मेदवार बन्ने हो भने उनको जीत निश्चित छ। उस्तै परे, उनी सर्वसम्मत उम्मेदवार हुन पनि बेर छैन। बाबुराम जस्ता प्रभावशाली व्यक्ति हुँदाहुँदै कान्तिपुर शहरका लागि अरु उम्मेदवारको खोजीमा हिडने पार्टीहरुको कुनै काम छैन। कनिकाको ठहर थियो, बाबुरामलाई कान्तिपुरको होलसोल जिम्मा दिए हुन्छ।

 (तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुन्छ | हामीले त्यहीबाट साभार गरेका हौँ -सम्पादक |)

, ,