ज्वाई मेयरका उम्मेदवार भएपछि ससुराले दिए राजीनामा


 प्रेम आचार्य 
शुक्रवार, जेठ १२

सन्धिखर्क: नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ कास्यपले पाटीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनु भएको छ।

कांग्रेसमा बसेर काम गर्दा न्याय नपाएको र सधै भरी अन्याय भोग्नु परेको कारण राजीनामा दिएको कास्यपले टेलिफोनमा जानकारी गराउनु भएको छ।

आगामी जेठ ३१ गते हुने स्थानीय तहको निवार्चनमा पाणिनी गाउँपालिकाको अध्यक्षका आकाक्षी कास्यप नेपाली कांग्रेसको पूर्व जिल्ला सचिव र महासमिति सदस्य समेत रहनु भएको थियो। तर उहाँका ज्वाईं खडानन्द बेल्बासेलाई अर्घाखाँचीकै भूमिकास्थान नगरपालिकामा कांग्रेसले मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

छोरी संगीता बेल्बासे कांग्रेसको जिल्ला समिति सदस्य हुनुहुन्छ। छोरी ज्वार्इंले टिकट पाएपनि आफूले नपाएका कारण काश्यपले राजीनामा दिएको कांग्रेसका कार्यकर्ताको भनाइ छ।

त्यस्तै अर्घाखाँचीमा सोमबार टिकट वितरणमा असन्तुष्टी जनाउदै कांग्रेसका जिल्ला सदस्य रहेका रामप्रसाद घिमिरेले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनु भएकोछ। घिमिरे कांग्रेस जिल्ला उपसभापति तथा महिला संघकी जिल्ला अध्यक्ष शान्ता भण्डारीका बुबा हुनुहुन्छ।

पूर्व क्षेत्रीय सभापतिद्वय मणिराम पौडेल र रमेश खनालले पनि सोमबार राजीनामा दिनु भएको थियो। रमेश खनालका भाइ कमल खनाल पाणिनी गाउँपालिकाको वडा नम्वर ८ को अध्यक्षमा कांग्रेसबाट उम्मेदवार हुनुहुन्छ, अन्नपुर्ण पोस्टले यो खबर छापेको छ |

, ,