बुटवललाई प्रदेश नं.५ को संघीय राजधानी बनाउन माग



१० जेठ
बुटवल । बुटवल र आसपासको क्षेत्रलाई एकीकृत रूपमा विकाश गर्न सके बुटवललाई नेपालकै आर्थिक केन्द्र बनाउन सकिनेमा व्यवसायीहरूले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य संघले बुधवार बुटवलमा गरेको अबको बुटवल विषयक विचार गोष्ठीमा सहभागिहरुले बुटवलको एकीकृत विकाशमा जुट्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरूले आसपासका क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन पनि सरकार तथा राजनीतिक दलहरूसँग माग गरेका छन् । कार्यक्रममा वोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले प्रदेश नं.५ को आम जनताको चाहना बमोजिम बुटवललाई प्रदेश नं.५ को संघीय राजधानी बनाउने गरी बुटवल उपमहानगरपालिकालाई महानगरापालिकामा स्तरोन्नति गर्नु पर्ने बताउनुभयो ।

अध्यक्ष सिंहले सुरक्षित शहर, सु–व्यवस्थित शहर, आवश्यक पूर्वाधार सहितको समृद्ध बुटवल शहर रहेको चर्चा गर्दै बुटवलको विकास कसरी गर्न सकिन्छ भन्नेमा विस्तृत चर्चा गर्नुभयो ।

कार्यक्रममा वोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले बुटवललाई प्रदेशको राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो । बुटवल उवासंघका वरिष्ठ उपाध्यक्ष खेम हमाल, कोषाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारी, रुपन्देही ब्यापार संघका वरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठ, भिजन लुम्विनीका जगत पोखरेलले बुटवललाई नमुना शहरका रुपमा विकास गर्ने प्रसस्त संभावना रहेको भन्दै यसका लागि सबै जुट्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै रामनगर सामुदायिक वनका क्याप्टेन किसन वहादुर थापा, लुम्विनी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रमेश खनाल, लुम्विनी वाणिज्य क्याम्पसका प्रमुख डाक्टर इश्वर गौतमले बुटवलको विकास गर्दा शिक्षा, स्वस्थ्य, वातावरणदेखि हरेक क्षेत्रमा ध्यान जानुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै होटेल तथा रेष्टुरेण्ट ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतमले बुटवलमा होटेल क्षेत्र बनाएर चौविसै घण्टा सञ्चालन गर्ने गरी विकास गनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, संघका वस्तुगत समितिका यादव घिमिरे, लक्ष्मण ज्ञवाली, मोतिपुरका पूर्व जनप्रतिनिधि शालिकराम शर्मा, केशव कुवर, प्रकाश पाठक लगायतले बुटवलको विकासका सम्वन्धमा धारणा राख्नुभएको थियो |

, ,