प्रधानमन्त्रीले आउँदो साता पदबाट राजिनामा दिने


 १ जेठ २०७४
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही साता राजिनामा दिने भएका छन्। प्रधानमन्त्री दाहालले आज मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी 'राजपा'का नेताहरुसँगको भेटमा आफ्नो तयरीबारे जानकारी दिएका हुन्।

'गठबन्धनसँगको सहमति अनुसार सफलरुपमा चुनाव सम्पन्न भएको छ। अब संविधान संशोधन गर्न सके कार्यभार सफल भएको महसुस गर्ने थिए,'  प्रधानमन्त्रीले भनाइ उदृत गर्दै राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले भने, 'अब संविधान संशोधनको असल प्रयत्न गर्छु र यही साता राजिनामा दिन्छु।'

उनले प्रधानमन्त्रीले निर्वाचन सम्पन्न भएकोमा आनन्द महसुस गर्दै अब एउटा काम पूर्णता दिने इच्छा बाँकी रहेको बताएको जानकारी दिए। भेटमा प्रधानमन्त्रीले 'एमालेले संविधान संशोधन हुन नदिएर द्वन्द्वलाई बाँकी राख्न चाहेको' भन्दै आफू भने असल प्रयत्न गर्ने  र संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका  थिए।

प्रधानमन्त्री दाहालले आगामी चार गतेको संसद् बैठकमा संविधान संशोधनको विधेयक निर्णयार्थ प्रस्तुत हुने भन्दै त्यसपछि पाँच वा छ गते सहमति अनुरुप राजिनामा दिने जानकारी दिए।

'संविधान कार्यान्वयन नहुँदासम्म यो गठबन्धन कायम राख्नुपर्छ, यो राजनीतिक आवश्यकता पनि हो भनेर प्रधानमन्त्रीले भन्नुभयो,' यादवले प्रधानमन्त्रीको भनाई उदृत गर्दै भने, 'त्यसो भएन भने फेरि पनि गैरजिम्मेवार शक्तिको हातमा सत्ता जाने र मुलुकलाई द्वन्द्वमा लैजान चाहनेहरु सफल हुने उहाँले बताउनुभयो।'

विहन नौ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेको राजपाको टोली करिब साँढे ११ बजे मात्र बाहिरिएको थियो। प्रधानमन्त्रीसँग भावनात्मक कुराकानी भएको यादवले जानकारी दिए। भेटका लागि विगतमा मधेसी मोर्चामा आवद्ध भएर राष्ट्रिय जनता दलमा गोलबद्ध भएका छ जना नेताहरु नै बालुवाटार पुगेका थिए।

, , ,