केशव स्थापितको शुभकामना राजुराज जोशीलाई


काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाका उमेदवारहरुलाई विजयको शुभकामना दिएका छन् । चुनाव प्रचार प्रसारको अन्तिम दिन स्थापितले कांग्रेसका उमेदवारहरुलाई घरदैलोका क्रममा विजयको शुभकामना दिएका हुन् । स्थापित आफै एमालेबाट काठमाडौं महानगरको मेयरको टिकटको आशामा थिए।

तर एमाले भित्रको गुटबन्दीका कारण पूर्व मेयर स्थापितले टिकट नपाएपछि रुष्ट बन्दै आएका थिए । घरदैलोका क्रममा स्थापितको टोल वागवजारमा बोलाएर विहिवार कांग्रेसबाट मेयरका उमेदवार राजुराज जोशी र उपमेयरका उमेदवार हरिप्रभा खड्गीलाई अग्रीम शुभकामना दिएका हुन् । कांग्रेसले वागवजारबाट नै उपमेयरमा हरिप्रभालाई उमेदवार बनाएको छ ।

यसअघी मनोनयन दर्ता भएसँगै नेपाली काँग्रेसबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएका राजुराज जोशीलाई पूर्व मेयर केशव स्थापितले अग्रीम बधाई दिएका थिए । मंगलबार मनोनयन दर्ता भएसँगै नेकपा एमालेबाट मेयरको टिकट पाउने चर्चा भएका स्थापितले जोशीलाई शुभकामना दिएका हुन् ।

जोशीले काठमाडौं महानगरका पूर्वमेयर स्थापितले आफूलाई अग्रीम बधाई दिएको जानकारी दिएका थिए । उनले भने ‘केशब स्थापितले पनि मलाई फोन गरेर मैले मेयरको टिकट पाइन, अब जित्ने तपाईंले नै हो भनेर भनिसक्नु भएको छ ।' व्यापक चर्चामा नाम आएपछि पनि एमालेले टिकट नदिएपछि स्थापित एमालेप्रति क्रुद्ध बनेका छन् ।

, ,