भोट रुख र सूर्यमा, अनि माग्ने पहिचान !


मनहरि तिमिल्सिना

अखबार पढ्छु, ‘जनजाति महासङ्घको टोलीद्वारा पहिचान माग्दै प्रचण्डलाई ज्ञापनपत्र ।’ दैनिकजसो अखबारमा आउने समाचार हेर्दा लाग्छ, ‘सबैका दाता प्रचण्ड हुन् ।’ माओवादी पहिलो पार्टी हुँदा होस् वा तेस्रो हुँदा, सबैले केही माग्न पर्याे कि प्रचण्ड दैलोमा धाउँछन् । संघीयता, पहिचान, समावेशिता, महिला अधिकार, स्वशासन, आत्मनिर्णयको अधिकार, विशेष अधिकार, राष्ट्रिय स्वाभिमान, आर्थिक विकास सबै–सबै कुरा माग्न प्रचण्ड दैलोमा बिहानदेखि साँझसम्म लाइन लाग्छ । अखबार र प्रचण्ड दैलोको भीड देख्दा लाग्छ, ‘प्रचण्डले चाहे भने सबै कुरा दिन सक्छन्, लिनेले मनग्गे लिन सक्छन् ।’
प्रचण्डकोमा माग्नेको भीड लाग्नेमा माओवादीभन्दा गैर–माओवादी नै बढ्ता छन् । कसैले पहिचान सहितको थारुवान् राज्य हुनैपर्छ भन्छन्, कसैले महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत हुनैपर्ने माग्छन् । कसैले देश बचाउन नेतृत्व लिइदिन आग्रह गर्छन् । प्रचण्ड जब सार्वजनिक समारोहमा सहभागी हुन्छन्, कांग्रेस, एमाले, मधेशी राप्रपाका नेताहरु भन्छन्, ‘सबैको समस्या बुझ्ने नेता प्रचण्डजी नै हो । हाम्रो आशा तपाईसँगै छ । तपाईजस्तो डाइनामिक, गतिशील र परिवर्तनको चेतना भएको नेता नेपालमा छैन ।’ कुरा एकदमै जायज हो । तर, कांग्रेस–एमालेको स्थायी समिति, पोलिट्ब्यूरो र केन्द्रीय समितिमा बसेर प्रचण्डलाई डाइनामिक नेता मान्ने ती नेता कस्ता होलान् ? मनमनै विचार गर्छु, ‘पार्टी कांग्रेस, नेता प्रचण्ड !’

पहिलो संविधान सभामा माओवादी पहिलो शक्ति थियो । पहिचान र अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्रको नारा माओवादीको प्रमूख एजेण्डा थियो । २०६९ जेठ २ गते प्रमूख दलहरुबीच मिश्रित निर्वाचन प्रणाली, ११ संघीय प्रदेश, राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार बिन्याससहितको शासकीय प्रणाली, संवैधानिक अदालतको प्रावधान रहेको न्याय प्रणालीमा सहमति भयो । तर, माओवादीभित्रको वैद्य समूह र संविधान सभाभित्र रहेको जनजाति सभासद्हरुको समूह (ककस) ले त्यसको विरोध गर्यो र सहमतिमा हस्ताक्षर भएन । १४ जेठ २०६९ मा संविधान निर्माण नगरी संविधान सभा भङ्ग हुनु त्यसैको परिणाम थियो ।
जब, संविधान सभा भङ्ग भयो, जनजाति सभासद र नेताहरु फुत्किएको माछो ठूलो देख्न थाले । जनजाति नेताहरु कतिले प्रचण्डले संविधान सभा भङ्ग गराएको कूप्रचारतिर लागे, कति प्रचण्ड ब्राह्माणवादी सोंच भएको नेता भन्न थाले । कतिलाई पहिचानभन्दा आफ्नै पार्टीको एकात्मक र हुकुमी फेरो प्रिय थियो । जब, संविधान सभाको दोस्रो निर्वाचनको घोषणा भयो, जनजाति नेताहरु आ–आफ्नै डम्फु बजाउन थाले । तमुवान, मगराँत, किराँत जिन्दावाद भन्ने जनजाति नेताहरुका कफन फेरिए, नारा फेरिए, बोली फेरिए । उनीहरु भन्न थाले, ‘भोट केमा सूर्यमा, अरु सबै बाइबाई, एमाले हाईहाई ।’ कतिले रुखको गुणगानमा जुत्ताको तलुवा घोटे, कतिले सूर्य छेक्न छाताको छहारी लिए ।
ती जनजाति नेताहरुलाई राम्ररी हेक्का थियो, ‘सुशील कोइराला, केपी ओली, कमल थापाजस्ता नेताहरु पृथ्वीनारायण र महेन्द्रकै उत्तराधिकारी थिए ।’ सार्वजनिक सभा हुन्थ्यो, ‘ओली कुर्लन्थे, जातीय बितण्डता रोक्न एमालेलाई भोट दिनुस् ।’ महेन्द्रको झल्को दिने गरी ओली उफ्रन्थे, ‘के को पहिचान ? अशोक राईको पहिचान एमालेको उपाध्यक्ष कि राईको छोरो ?’ नजिकै बसेका जनजाति नेता त्वम्शरणम् गर्थे । सुशीलको तोते बोलीमा पनि महेन्द्रकै गन्ध आउँथ्यो । तर, जनजाति नेताहरुले नारा लगाई रहे, ‘भोट केमा सूर्यमा, नेपाली कांग्रेस जिन्दावाद ।’

चुनावपूर्व माओवादीले प्रस्ताव राख्यो, ‘पहिचान र उत्पीडितहरुको अधिकारका पक्षमा लड्नेहरु मिलेर चुनाव लडौं ।’ तर, मान्ने कसले ? रुख, सूर्य र हलोमा भोट हालेर पहिचान खोज्नेहरु मान्ने कुरा थिएन । उनीहरुले माओवादी प्रस्ताव अस्वीकार गरे । अरु त अरु नै भए । तर, पहिचानको वकालत गर्ने संघीय समाजवादी पनि एक्लै चुनावमा होमियो । उसले अरुको भोट काट्नै कुरै थिएन, काट्थ्यो त माओवादीकै जनजाति मत काट्थ्यो । अन्ततः ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ भयो । पहिचानको वकालत गर्ने कांग्रेस, एमाले, संघीय समाजवादी भित्रका नेताहरुकै कुबुद्धिको परिणाम माओवादी हार्यो । माओवादी तेस्रो दलमा खुम्चियो ।

चुनावको खेल खतम भयो । तर, जनजाति नेताहरुको बिन्तीपत्रको चाङ घटेन । न उनीहरुले आफ्नो कर्मप्रति समीक्षा गरे, न भविश्वप्रतिको दुरगामी चिन्ता नै । बरु, ज्ञापनपत्रका फाइल बोकेर फेरि लाजिम्पाट धाउन थाले र भने, ‘प्रचण्डजी, हाम्रो नेता तपाई नै हो, हामीलाई पहिचान सहितको संघीयता चाहियो ।’ उनीहरुको माग यतिमै सीमित थिएन । उनीहरु भन्थे, ‘खबरदार ! पहिचान सहितको संघीय संविधान भएन भने मान्दैनौं । तपाईहरु खस नेताले मनपरि गर्न पाउनुहुन्न ।’ उनीहरुको कुरा सुन्दा मनमनै हाँसो लाग्छ, रिस पनि उठ्छ । चुनावको दिनसम्म राजा त्रिभूवन र महेन्द्रका अनुयायी नेताहरुको ज्युहजुरी गर्ने नेताहरुले प्रचण्डलाई खसवादी भन्दा लोक कति हाँस्दो हो ? मनमनै सोच्छु, ‘यिनको बुद्धि कहिले आउला ?’

प्रचण्ड प्रधानमन्त्री भएदेखि फेरि पहिचानवादीको बालुवाटारमा लाइन लागेको छ । उनीहरु भन्छन्, ‘नयाँ संविधानले हामीलाई पहिचान दिएन, अधिकार दिएन । हामी मान्दैनौं, यो कालो संविधान हो ।’ नयाँ संविधान प्रगतिशील चरित्रकै छ । तर, पहिचान, समावेशिता, समानुपातिक प्रतिनिधित्व, भाषिक, सांस्कृतिक अधिकार लगायतका धेरै कुरा संविधानमा छुटेका छन् । संविधान संशोधन हुनुपर्छ, पहिचान र अधिकार स्थापित हुनैपर्छ, यो आजको अनिवार्य आवश्यकता हो । तर, म ती बुद्धु जनजाति नेताहरुलाई सोध्न चाहन्छु, ‘पहिचान सहितको संघीयता नभएको माओवादी र प्रचण्डका कारणले हो ? होइन भने तिम्रो दवाव केपी ओली, शेरबहादुर देउवा, कमल थापाहरु विरुद्ध हुनु पर्दैन ?’

एकातिर सिस्नोको घारी छ, अर्कोतिर स्याउको रुख । कांग्रेस, एमाले, राप्रपा र संघीय समाजवादीका जनजाति नेताहरु सिस्नोको घारीमा मल हाल्छन्, सिंचाई गर्छन् र भन्छन्, ‘स्याउको बोट सुकेकोमा ज्यादै चिन्तित छौं ।’ उनीहरु थप्छन्, ‘यो बोटमा जसरी नि स्याउ फल्नैपर्छ ।’ तर, नेतागण ! सिस्नोमा मलजल गरेर स्याउ नफलेको चिन्ता गर्न मिल्छ ? पहिचान, अधिकार, आन्तरिक राष्ट्रियता, भाषिक, सांस्कृतिक बहुलता र विविधताको बिरोध गर्नेहरुको झण्डा समातेर, उनीहरुलाई बलियो बनाएर पहिचान स्थापित हुन सक्छ ? ‘काँसी जानु कुतिको बाटो’ भन्ने उखान जनजाति नेताहरुकै लागि बनेको त होइन ? आफूले आत्मसमीक्षा गर्नु पर्दैन ?

जनजाति नेताहरु, तपाईहरु पहिचान, संघीयता, समावेशिताका लागि प्रचण्ड र माओवादीलाई दवाव दिनै पर्दैन, घेरा हाल्नै पर्दैन, खबरदार भन्नै पर्दैन । बरु, उत्पीडित जातिलाई नन्दी भिरिङ्गी, अराष्ट्रिय तत्व, पृथकतावादी, देशद्रोही भन्ने केपी ओलीलाई दवाव दिनुस् । शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई दवाव दिनुस् । बहुलता भएको देशलाई गाईको खुरले कुल्चन खोज्ने कमल थापालाई दवाव दिनुस् । उनीहरुको दैलोमा देउसी खेल्नुस्, जुलुस गर्नुुस् र भन्नुस्, ‘खबरदार ! हाम्रो पहिचान चाहिन्छ, स्वाभिमान चाहिन्छ, नेपालभित्रै बराबरीको अधिकार चाहिन्छ ।’ के तपाईहरुसँग हिम्मत छ ? ओली, देउवा र रामचन्द्रसँग रुझेको बिरालोझैं लुसुक्क परेर, भोट केमा, रुखमा, नेकपा एमाले जिन्दावाद भनेर पहिचान पाइन्छ भन्ने भ्रमजाल नपर्नुुस्, हामीलाई पनि नपार्नुस् ।

अन्तिममा, कमरेड प्रचण्डलाई भन्न चाहन्छु, तपाईको दैलोमा पहिचान र स्वाभिमान खोज्न आउने जनजाति नेताहरुलाई भनिदिनोस्, ‘रुख र सूर्यमा भोट हालेर पहिचान खिर्राको रुखमा अनार फलाउने सपनाजस्तै हो । कि तपाईहरु आफ्नो पार्टी छोडेर आउनुस्, कि तपाईका पार्टीका नेताहरुलाई पहिचान र स्वाभिमानको पक्षमा सहमत गराएर आउनुस् ।’ अनि, जनजाति दाजुभाइ दिदीबहिनी हामी पहिला हाम्रै नेताहरुलाई भनौं, ‘एमाले कांग्रेसमा बसेर पहिचानको आशा राख्नु बालुवामा पानी हाल्नुजस्तै हो ।’ जनजाति अगुवाहरु, अब त चेत । कि फेरि पनि पहिचानका नाममा रुख, सूर्य र हलोमा भोट माग्ने विचार छ ?

,