मतगणना कहिले र कसरी हुन्छ ?


काठमाडौं, ३१ वैशाख – ३४ जिल्लामा पहिलो चरणको स्थानीय निर्वाचन भइरहेको छ । साँझ ५ बजे मतदानको समय सकिने छ । तर पाँच बजे भन्दा पहिले मतदान केन्द्र छिरेका मतदाताले चाहिँ अबेरसम्म पनि मत खसाल्न पाउने छन् ।

स्थानीय तह निर्वाचन ऐन २०७३ ले मतगणना सम्बन्धि व्यवस्था गरेको छ । उक्त ऐनमा भएको प्रावधान अनुसार मतगणना गरिने छ । मतगणना निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गराउने छन् । दलहरुले सम्बन्धित स्थानीय तहमै मत गणना गर्ने गरि सहमति जनाइसकेका छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सम्बन्धित स्थानीय तहको केन्द्रमा मतगणना गरिने छ ।

मतगणना यसरी

३४ जिल्लाका दुई सय ८१ निर्वाचन केन्द्रमा मतदान भइरहेको छ । निर्वाचनको सम्पूर्ण अधिकार निर्वाचन अधिकृतले पाउँछ । मत गणनाको सम्पूर्ण अधिकार पनि निर्वाचन अधिकृतलाई नै दिइएको हुन्छ ।

दुई सय ८१ वटै मतदान केन्द्रमा एकै पटक मतगणना चाहिँ हुने छैन । कोहीले चाँडो गर्ने छन् कोहीले ढिलो गर्नेछन् । यसको सम्पूर्ण अधिकार निर्वाचन अधिकृतलाई हुन्छ । निर्वाचन अधिकृतले स्थानीय स्तरमा दलका प्रतिनिधिहरुसँग परामर्श गरेर मत गणनाको समय तोक्न सक्छ ।

छिटो गर्नेले साँझ ८/९ बजेबाट मतगणना गर्न सक्छन् भने ढिलो गर्नेले सोमवार विहान सवेरैबाट मतगणना गर्न सक्छन् ।

निर्वाचन सकिएपछि मतदान स्थलमा रहेका निर्वाचन आयोगका कर्मचारी, पर्यपक्षकहरु, सुरक्षाकर्मी, उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, दलका प्रतिनिधि, पत्रकार लगायतको रोहवरमा मतपेटिका बन्द गरिन्छ ।

ती मत पटिकालाई सुरक्षाकर्मीले उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, निर्वाचन आयोगका कर्मचारीकै रोहवरमा सम्बन्धित मतदान केन्द्रमा एकत्रित गर्ने छन् । अर्थात वडाहरुका मतपेटिकालाई गाउँपालिका, नगरपालिका, महानगरपालिका र उप महानगरपालिकाको केन्द्रमा जम्मा गरिन्छ ।

त्यसपछि निर्वाचन अधिकृतले ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार सूचना प्रकाशन गर्नेछन्, सो सूचनामा मतगणना गर्ने समय पनि तोकिएको हुन्छ । सो सूचना पछि सुरक्षाकर्मी, निर्वाचन आयोगका प्रतिनिधि, दलका उम्मेदवार र प्रतिनिधि, पर्यबेक्षक लगायतको उपस्थितिमा मतपेटीका खोलेर मतगणना सुरु हुन्छ । सो समयमा सबैतर्फका प्रतिनिधिहरु रहन्छन् ।

अन्तमा निर्वाचन अधिकृतले प्राप्त मतको आधारमा विजयी उम्मेदवारको नाम प्रकाशन गर्छन् । २ सय ८१ मतदान अधिकृतले सम्बन्धित तहको सेन्टर पर्ने ठाउँमा मतपेटिका जम्मा गरेपछि गणना सुरु गराउने छन् ।
निर्वाचन आयोगले ऐन तथा नियमावली अनुसार मत गणनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्वाचन अधिकृतलाई दिएको छ ।

ऐनमा छ यस्तो व्यवस्था

मतदान सकिएपछि स्थानीय तहको निर्वाचनको मतगणना गर्ने स्थान तोकी निर्वाचन अधिकृतले सूचना प्रकाशन गर्छन् । स्थानीय तहको कुनै पदको निर्वाचनको लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको लागि प्रयोग गरिएका सबै मतपेटिका प्राप्त गरिसकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय तोकी उम्मेदवारको जानकारीको लागि सूचना प्रकाशन गर्ने प्रावधान गरेको छ ।

मतगणनाको लागि उम्मेदवारले आफ्नो निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि मनोनयन गरी मतगणना गर्ने स्थानमा पठाउनु पर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ । कुनै स्थानीय तहको कुनै मतदान केन्द्रमा पुनः मतदान गर्नु पर्ने भएमा त्यस्तो मतदान केन्द्रको मतदानको कार्य समाप्त नभएसम्म त्यस्तो निर्वाचनसँग सम्बन्धित मतगणना प्रारम्भ हुँदैन ।

निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरेपछि मतगणना समाप्त नभएसम्म त्यस्तो मतगणनाको काम लगातार गर्नु पर्छ । काबूबाहिरको परिस्थिति परी मतगणनाको काम बीचैमा रोक्नु परेमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्रहरु, मतगणना अभिलेखहरु, मतगणना गर्न बाँकी रहेका मतपत्रहरु र मतगणना गर्न बाँकी मतपेटिकाहरुको लगत समेत अलग अलग खाम, थैलो वा बोरामा बन्द गरी आफ्नो लाहाछाप लगाउनु पर्छ ।

, ,