बाबुराम र करिश्माले भने- हामी जे भन्छौं त्यो पूरा गछौं


१० जेठ

कैलाली । नयाँ शक्ति पार्टीले चुनावी प्रचार अभियानका क्रममा बुधबार कैलाली जिल्लाको भजनी नगरपालिकामा चुनावी सभाको आयोजना गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक डा बाबुराम भट्टराईले देशमा चुनावी मौसम सुरु भएसँगै पुराना पार्टीहरुले आम मतदातालाई प्रलोभनमा पारि मत किन्ने र डरधम्की एवं त्रासपूर्ण वातावरण सिर्जना गर्न लागेको भन्दै न्यायप्रेमी आम मतदाता त्यसप्रति चनाखो रहनुपर्ने बताएका छन् ।

उनले नयाँ शक्ति सधैं न्याय र सत्यको पक्षमा लड्ने प्रष्ट पार्दै भने – ‘हामी जे भन्छौं, त्यो पूरा गछौ‌’ यदि पूरा गरेनौं भने तपाईहरुले जे दण्ड दिनुहुन्छ भोग्न तयार छौं ।’

संयोजक भट्टराईले इतिहासमा सबै पार्टीहरुले परिवर्तनको लागि योगदान दिएको चर्चा गर्दै भने – ‘हामी कसैको आलोचना गर्दैनौं । नेपाली कांग्रेसले राणाशाहीको अन्त्य गर्न संघर्ष गरेकै हो । एमालेले पञ्चायतलाई ढालेर बहुदलीय व्यवस्था ल्याउन योगदान गर्यो । माओवादी जसमा म आफैं संलग्न थिएँ, त्यसले हतियारको बलमा राजतन्त्र र सामन्तवादलाई जरैदेखि फालेर संघीय गणतन्त्र स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेल्यो । त्यसको हामी सबैलाई इतिहासमा पुर्याएको योगदानका लागि धन्यवाद दिन चाहन्छौं ।’

भट्टराईले देशमा व्यवस्था परिवर्तनको प्रक्रिया पूरा भएकोले अबको निकासका लागि नै नयाँ शक्तिको अपरिहार्यता रहेको समेत प्रष्ट पारे | देश अब विकास र समृद्धितिर लम्किरहेको बताउँदै त्यसका लागि नयाँ सोंच एजेण्डासहितको राजनीतिक पार्टी आवश्यक भएकोले नयाँ शक्तिको जन्म भएको पनि भट्टराईले उल्लेख गरे ।

त्यस्तै नेतृ करिष्मा मानन्धरले सभालाई सम्बोधन गर्दै यो चुनाव स्थानीय सरकारको चुनाव भएको हुनाले राम्रो र विश्वासिलो मान्छेलाई चुनेर पठाउन सबैलाई अनुरोध गरिन । नेतृ मानन्धरले महाभारतमा उल्लेखित कौरव र पाण्डवको प्रसंग कोट्याउँदै भनिन – ‘जसरी महाभारतमा कौरव सत्तामा थियो र पाण्डवलाई जंगलमा धपाएर पनि नपुगेर जंगलमै मार्न अनेक प्रयास गरेको थियो, त्यसैगरी पुराना सत्तासीन दलहरु चुनावको मुखमा नयाँ शक्तिलाई पाण्डवको रुपमा व्यवहार गरिहेका छन् ।’ नयाँ शक्तिले पुराना पार्टीहरुको व्यवहारलाई चुनौतिकै रुपमा लिएर अघि बढ्नेसमेत उनले प्रष्ट पारिन ।

नयाँ शक्तिको चुनावी अभियान अन्तर्गत विगत केही दिनदेखि संयोजक डा। बाबुराम भट्टराईलगायतका केन्द्रीय नेताहरु पश्चिम नेपालको भ्रमणमा छन् |

, , ,