शान्तीपूर्ण सम्पन्न भयो पहिलो चरणको निर्वाचन


काठमाडौं, ३१ वैशाख –पहिलो चरणअन्तर्गत प्रदेश ३, ४ र ६ मा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगले अनुमान गरेको छ । विहान ७ बजेदेखि चलेको निर्वाचनमा ७५ प्रतिशतसम्म मत खसेको हुनसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले संचार माध्यमहरुलाई बताए ।

आयोगका अनुसार साढे ३ बजेसम्म करीव ६२ प्रतिशत मत खसेको थियो । ‘५ बजेसम्ममा करीव ७५ प्रतिशतसम्म मत खसेको हाम्रो अनुमान छ,’ आयोगका प्रवक्ता शर्माले भने ।

पहिलो चरण अन्तर्गत तीन प्रदेशका ३४ जिल्लामा निर्वाचन सम्पन्न भएको हो । पहिलो चरणमा करीव साढे ४९ हजार मतदाताको नाम मतदाता नामावलीमा प्रकाशित थियो । मतदान सकिएपछि आजैदेखि मतगणना गर्ने आयोगले बताएको छ ।

स्थानीय तह अन्तर्गत आइतबार भएको पहिलो चरणको निर्वाचन केही स्थानमा छिटपुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको हो ।

दोलखा, काभ्रे, रामेछाप, हुम्ला, दैलेखमा केही केन्द्रमा केही तनाव भएको छ । अन्य स्थानमा भने चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

दोलखामा मेलुङमा प्रहरीको गोलीबाट एक जनाको मृत्यू र केही घाइते भएका छन् । दोलखाकै बैत्येश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका केही केन्द्रहरुमा बुथ कब्जा भएको आरोप लगोको छ । एमालेले ती स्थानको मतदान स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

हुम्लामा कांग्रेसकै  आधिकारिक र बागी उम्मेद्वारबीचको तनावले खार्पुनाथ गाउँपालिकाका केही तनाव भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्‍यो । दैलेखको भैरवी गाउँपालिकामा पनि केही तनाव भयो । सिन्धुपाल्चोकको इन्द्रवती गाँउपालिकाको भोटसिपामा केही तनाव हुँदा प्रहरीले हवाई फायर गर्‍यो  । रामेछापको दोरम्बामा तनाव हुँदा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ ।

अन्य स्थानहरुमा चुनावमा कुनै अप्रिय घटना भएनन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान पाँचबजे सकिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकलाई आधार मान्दा ६२ प्रतिशत भन्दा बढी मतदान  भएको देखिएको छ । यद्यपी तीन वटै प्रदेशमा कति मत खस्यो भन्ने आधिकारिक तथ्यांक निर्वाचन आयोगले केहीबेरमा सार्वजनिक गर्ने छ । मत प्रतिशत केही बढ्न सक्छ ।

नयाँ संविधान अनुसार मुलुक संघीय संरचनामा गएपछि भएको यो पहिलो निर्वाचन हो । यो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले स्थानीय सरकारको अभ्यास गर्नेछन् ।

पहिलो चरणमा ३४ वटा जिल्लाका  २ सय ८३ वटा  स्थानीय तहमा आइतबार चुनाव भएको हो । पहिलो चरणको यो चुनावबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिने छन् । उक्त पदका लागि ४९ हजार ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धी छन् ।

आइतवारको निर्वाचनमा मतपत्रको विषयमा मतदाताहरुको केही गुनासो आएको  छ  । विषेशगरी काठमाडौंको मतपत्र धेरै ठूलो भएको र चिन्ह चिन्नकै गार्‍हो भएको प्रतिक्रिया आएको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य लगायत सबैका लागि एउटै मतपत्र हुँदा केही जटिलता देखिएको थियो । मतदान केन्द्रहरुमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था भएकाले मतदान गर्नका लागि ठूलो असहज भएको थिएन ।

, ,