किन सधैं नयाँ अनुहार खोज्छ काठमाडौं ?


 बलराम पाण्डे  
जेठ ११ बिहीबार

काठमाडौं । नारायणमान बिजुक्छे काठमाडौंसँगै जोडिएको जिल्ला भक्तपुरबाट विगत २६ वर्षदेखि संसद्मा प्रतिनिधित्व गर्छन् । संसदीय निर्वाचन होस् वा संविधान सभा निर्वाचन बिजुक्छे नै भक्तपुरवासीको एक नम्बर रोजाइमा पर्दैआएका छन् । अर्थात, उनको दल नेपाल मजदुर किसान पार्टी सधैँजसो त्यहाँको एक स्थानमा निरन्तर रहेको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि भक्तपुर नगरपालिकामा भारी मतको अग्रतासहित नेमकिपाले विजय हासिल गरेको छ ।

काठमाडौं उपत्यकाबाहिर जाने हो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत कांग्रेसका केही अनुहार पनि विगत २६ वर्षदेखि नै अर्थात् २०४८ सालदेखि लगातार संसद्मा प्रतिनिधित्व गर्छन्, पटकपटक एउटै दलका प्रतिनिधि एकै थलोबाट निर्वाचित हुनेगरेका छन् ।

उनीहरु त एउटै पार्टीबाट निर्वाचित भए तर फरक फरक पार्टीमा रहेर पनि लगातार प्रतिनिधित्व गर्ने नेता हुन् विजयकुमार गच्छदार । तीनवटा पार्टी बदल्दै यहाँसम्म आइपुगेका उनी पनि २०४८ सालदेखि लगातार संसद्मा प्रतिनिधित्व गर्ने थोरै नेतामध्ये पर्छन् ।

कति नेता त राष्ट्रिय पञ्चायतदेखि नै संसद्मा प्रतिनिधित्व गर्छन् । यस्ता थुप्रै नेता छन् जो आफ्नै क्षेत्रबाट बीसौं वर्ष लगातार प्रतिनिधित्व गरेका छन् ।
तर, काठमाडौंले सितिमिति नेतामात्र होइन पार्टी पनि दोहोर्याउँदैन । सबैभन्दा धेरै क्षेत्र रहेको काठमाडौंले एकाधबाहेक उमेदवार पनि दोहार्याएको देखिँदैन । त्यो कुरा यसपटकको स्थानीय तहको निर्वाचनमा पुनः पुष्टि भएको छ ।  राष्ट्रिय पञ्चायत होस् या संसदीय निर्वाचन काठमाडौंले नेतासँगै पार्टी पनि परिवर्तन गरिरहन्छ ।

कहिले नेकपा (एमाले)को गढ त कहिले कांगे्रसको गढ मानिएको काठमाडौंले शीर्ष नेतालाई समेत पराजित गरिदिन्छ । कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सबैलाई काठमाडौंवासीले पराजित गरिदिएका छन् ।

हेरौं इतिहास 
विसं २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा काठमाडौंले नानीमैयाँ दाहाललाई विजयी बनाइदियो । काठमाडौंका मतदातामा देखिएको असन्तुष्टि नानीमैयाँ दाहालमार्फत मतदाताले व्यक्त गरेको राजनीतिज्ञहरू ठान्छन् ।

तर, उनीसँगै पञ्चायतका कट्टर पक्षधर उमेदवार जोगमेहर श्रेष्ठ पनि राष्ट्रिय पञ्चायत सदस्यमा विजयी भएका थिए । तर, काठमाडौंले उनीहरुलाई ५ वर्षपछि भएको अर्को निर्वाचनमा पाखा लगाइदियो । विसं २०४३ सालको राष्ट्रिय पञ्चायत सदस्यमा पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठलाई काठमाडौंले विजयी जितायो ।
विसं २०४८ सालको संसदीय निर्वाचनमा २०४६ सालको आन्दोलनको नेतृत्व गरेको कांग्रेसलाई नै काठमाडौंले हराइदियो । भलै अन्तरघात किन नभनियोस् ५ वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमालेले ४ स्थानमा विजय हासिल ग¥यो भने एउटा निर्वाचन क्षेत्रमा मात्र नेपाली कांग्रेस विजयी भएको थियो ।

मदन भण्डारी (१ र ५ नम्बर क्षेत्र), पद्मरत्न तुलाधर र सहाना प्रधान एमालेबाट विजयी भएका थिए भने कांग्रेसका तर्फबाट २ नंबर क्षेत्रबाट दमननाथ ढुंगानामात्र विजयी भएका थिए ।

विसं २०५१ मा भएको संसदीय उप निर्वाचनमा पनि कांग्रेसका प्रभावशाली नेतालाई काठमाडौंले टिक्न दिएन । यहाँका ७ वटै निर्वाचन क्षेत्रमा नेकपा (एमाले)लाई एकछत्र विजयी गराइदियो ।

त्यतिबेला ७ वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमालेका मनमोहन अधिकारी (१ र ३ नम्बर क्षेत्र), विद्यादेवी भण्डारी,  पद्मरत्न तुलाधर, राजेन्द्रप्रसाद श्रेष्ठ, सहाना प्रधान र कृष्णगोपाल श्रेष्ठले विजय हासिल गरेका थिए ।

विसं २०५६ सालको संसदीय निर्वाचनमा काठमाडौंले ७ वटा निर्वाचन क्षेत्रमध्ये दुई सिटमा मात्रै कांग्रेस उमेदवार विजयी बनाइदियो भने धेरैमा नेकपा (एमाले)का प्रतिनिधि विजयी भए ।

त्यसमध्ये एमालेका प्रदीप नेपाल, विद्यादेवी भण्डारी, ईश्वर पोखरेल, मंगलसिद्धि मानन्धर, अष्टलक्ष्मी शाक्य गरी ५ जना नयाँ अनुहारलाई विजयमाला पहिराएको थियो भने नेपाली कांग्रेसका तीर्थराम डंगोल र प्रेमलाल सिंहलाई विजयी गरायो ।

एमालेको यस्तो पकड रहेको क्षेत्र भए पनि २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा काठमाडौंवासीले एमालेलाई एक सिटमा पनि विजयी गराएनन् । एमालेका तत्कालिन महासचिव माधवकुमार नेपालसमेत माओवादीका नामै नसुनिएका उमेदवारसँग पराजित भए ।
विसं २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसले ६ वटा निर्वाचन क्षेत्र र तत्कालीन नेकपा (माओवादी)ले ४ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो ।

माओवादीले पहिलो संविधान सभा निर्वाचनमा काठमाडौंमा १० वटा क्षेत्रमा प्रत्यक्षतर्फमात्र १ लाख ८ हजार ५६५ मत प्राप्त गरेको थियो ।
कांग्रेसले त्यसबेलाको निर्वाचनमा प्रत्यक्षतर्फ १ लाख १८ हजार ९४९ मत प्राप्त गरेको थियो भने नेकपा एमालेले कुनै निर्वाचन क्षेत्रमा विजयी हासिल नगरेको भए पनि ९३ हजार मत काठमाडौंवासीबाट प्राप्त गरेको थियो ।

संविधान सभाको दोस्रो निर्वाचनसम्म आइपुग्दा माओवादीप्रतिको धारणा नै काठमाडौंवासीले परिवर्तन गरिदिए । त्यतिमात्रै होइन, आफैले भारी मतका साथ विजयी गराएका माओवादीको आम हडतालविरुद्ध उत्रेर तिनको सातो पनि यहाँका जनताले उडाएका थिए ।

त्यसको फल विसं २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा माओवादीले पाई पनि हाल्यो । अघिल्लो चुनावमा भारी मतका साथ विजयी भएका माओवादी अध्यक्ष दाहाल नेपाली कांग्रेसका खासै नाम नसुनिएका नेता राजन केसीसँग सहजै पराजित भए ।

दोस्रो संविधान सभा निर्वाचनमा माओवादी राजधानीबाट पुरै बढारियो कुनै पनि सिटमा जित हासिल गर्न सकेन । काठमाडौंवासीले २०६४ को निर्वाचनमा भन्दा कांग्रेसलाई ०७० सालमा धेरै विश्वास गरे । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये २०७० सालको निर्वाचनमा प्रत्यक्षतर्फ मात्रै १ लाख ५० हजार ८४५ मत प्राप्त गरेको कांग्रेसलाई चारवर्षपछि भएको स्थानीय तहको निर्वाचनमा मतदाताले रुचाएनन् ।

एमालेले पनि पहिलो संविधान सभा निर्वाचनमा भन्दा मत ०७० मा बढाएको थियो । उसले १० वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ मात्रै १ लाख २१ हजार ४६० मत प्राप्त गरेको थियो । पहिलो संविधान सभामा त्यतिधेरै मत बटुल्न सफल माओवादी ७० सालको चुनावमा निकै कम मत प्राप्त गर्यो । उसले ०७० सालको चुनावमा काठमाडौंमा कुनै पनि सिट त जित्न सकेन तर प्रत्यक्षतर्फ १० वटा निर्वाचन क्षेत्रमा ६१ हजार ४२६ मत प्राप्त गरेको थियो ।

सधैंँ विकल्पको खोजी
अहिले भएको स्थानीय तहको निर्वाचनमा पनि काठमाडौंले नयाँ अनुहार र दल नै खोजिरहेको छ । काठमाडौंवासी कुनै पनि दललाई निरन्तरता दिन तयार देखिँदैनन् ।
विवेकशील नेपाली र साझा पार्टी नयाँ भए पनि उनीहरूतर्फ काठमाडौंका मतदाता केही आकर्षित भएको देखियो तर अझै तिनलाई विजयी बनाउने अवस्था भने देखिएन ।

किन यस्तो ?
एकजना राजनीतिक विश्लेषकका अनुसार काठमाडौं देशकै सबैभन्दा बढी शिक्षित र सञ्चारको पहुँच भएको जिल्ला भएकाले मिडियाको प्रभावमा धेरै परेको देखिन्छ ।
घात अन्तर्घात पनि काठमाडौंको राजनीतिले बेहोर्दै आएको अर्को पाटो हो ।  यसले गर्दा पनि पटकपटक यहाँका मतदाताले नयाँ नयाँ नेतृत्वको उपहार पाउने गरेका छन् ।

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उमेदवार विद्यासुन्दर शाक्य पनि काठमाडौंवासीले नयाँनयाँ अनुहार खोजिरहने तथ्य स्वीकार गर्छन् । “काठमाडौंका मतदाताहरू सधैँ एकैतिर लागेका छैनन्, तलाउको पानीजस्तो स्थिर छँदै छैनन्,” उनले बाह्रखरीसँगको कुराकानीमा भने, “कुनै सयम यहाँ सबै क्षेत्रमा एमालेले जित्यो । कुनै समय सबै क्षेत्रमा हार्यो पनि । ०६४ सालमा भर्खरै चुनावी मैदानमा ओर्लिएको माओवादीले महानगरमा राम्रै भोट पायो । तर, मतदाताले ०७० सालमा काठमाडौंमा सबैभन्दा बढी मत कांग्रेसलाई दिए । तर, काम जनभावना अनुसार भएन । महानगरबासीको सपना पूरा हुने त परै जाओस्, दैनन्दिनीको समस्या पनि किनारा लागेनन् । राष्ट्र र राष्ट्रियताको सवालमा उहाँहरूले लिएको अडान अस्पष्ट र कतिपय सन्दर्भमा राष्ट्रको हितमा नदेखिएकाले मतदाता चिढिएका थिए । त्यसको ‘रिफ्लेक्सन’ पनि यो चुनावमा देखियो ।”

जेहोस्, यति के चाहिँ स्पष्टसँग भन्न सकिन्छ भने काठमाडौंका मतदाताको प्रवृत्ति असन्तुष्टिको प्रतिविम्बनमात्रै हैन निरन्तर परिवर्तनको चाहना पनि हो ।
  बाह्रखरीबाट

, , , ,