सिंगो परिवार नै ब्याडमिन्टन खेलमा



मनोज बस्नेत बिहीबार, बैशाख २८,

इटहरी : एकाबिहानै इटहरी ब्याडमिन्टन क्लबको कभर्डहलमा आइपुगेका धरान- १६ निवासी ५० वर्षे राजकुमार कर्माचार्य र उनकी पत्नी दिवा खेल हेर्न आतुर थिए । उनीहरू दुवैले बारम्बार सोधिरहन्थेँ ‘खेल कति बेलाबाट सुरु हुन्छ ? ' पौने घन्टाको पर्खाइपछि खेल सुरु भएपछि उनीहरू रोमाञ्चित बने । उनका जेठी छोरी २१ वर्षीया रिजु र कान्छी छोरी १४ वर्षीया रिया खेल मैदानमा थिए । उनका छोरीहरूले कोर्टमा र्‍याकेट समात्नासाथ राजकुमार र दिवाले हौसला बढाउन निरन्तर हुटिङ गरिरहे । कडा प्रतिस्पर्धाबीच कान्छी छोरी रियाले बाजी मारेपछि उनीहरूको हर्षको सीमा नै रहेन ।

‘म आफैं पनि खेलाडी हु“ । सुरुमा क्रिकेट खेल्थेँ । दुई पटक राष्ट्रिय स्तरको खेल खेलिसकेँ' राजकुमारले सुनाए ‘उमेरका कारण २०६७ बाट क्रिकेट छाडेर ब्याडमिन्टन खेल्न थालेको हुँ ।' राजकुमार र उनका दुई छोरीमात्रै होइन, पत्नी दिवा पनि ब्याडमिन्टन खेल्छिन् । ‘मेरो पूरै परिवार ब्याडमिन्टन खेलमा लागेको छ' उनले भने ‘छोरीहरूले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पूर्वाञ्चलस्तरीय छनोटमा सहभागी जनाए । हामी काठमाडौंमा हुने प्रतिस्पर्धामा छनोट हुने ध्याउन्नमा छौं ।'
ब्याडमिन्टन खेलमा महिलाको भविष्य निकै राम्रो देखेकाले दुवै छोरीलाई खेलाडी बनाएको दिवाले बताइन् । ‘ब्याडमिन्टनप्रति हामीलाई निकै माया छ' उनले भनिन् ‘छोरीहरूलाई व्यावसायिक खेलाडी बनाउने सपना बोकेर निरन्तर सहयोग गरिरहेका छौं । उनीहरू व्यावसायिक खेलाडी बन्न सकेनन् भने पनि ब्याडमिन्टन खेल्दा उनीको स्वास्थ्य राम्रो हुन्छ ।' कर्माचार्य दम्पती खेलका अलावा व्यापारमा संलग्न रहँदै आएका छन् ।

आमाबुवा दुवै ब्याडमिन्टन खेलाडी भएकाले उहाँहरूको निरन्तर सहयोगले हौसला मिलिरहेको रिजु बताउँछिन् । ‘हामी दिदीबहिनीले सुरुमा बुवाबाट ब्याडमिन्टन खेल्न सिक्यौं' उनी भन्छिन् ‘त्यसपछि धरानकै ब्याडमिन्टन प्रशिक्षक प्रतीक श्रेष्ठसँग प्रशिक्षण लियौं ।' उनी छैटौं राष्ट्रिय प्रतियोगितामा सुनसरीबाट छनोटमा परेकी थिइन् । त्यसबाहेक पूर्वाञ्चलमा हुने प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएकी छिन् ।

‘कुनै पनि मिडियाले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको अहिलेसम्म सुनेकी छैन' रियाले हर्षित हुँदै भनिन् ‘अन्नपूर्ण पोस्ट्ले खेलाडीका लागि निकै सराह्रनीय काम गरेको छ । जसबाट हामीले पनि अन्तर्राष्ट्रिय स्तरको खेल खेल्ने मौका पाएका छौं ।' उनले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर टिम इभेन्ट्समा कांस्य पदक हासिल गरेकी थिइन् ।

अन्नपूर्ण मिडिया नेटवर्कले मंगलबारदेखि इटहरीमा आयोजना गरेको अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पूर्वाञ्चलस्तरीय छनोट खेलमा महिला खेलाडीको सहभागिता उल्लेख्य रहेको छ । प्रतियोगितामा विराटनगरकी ११ वर्षीया रोज पाण्डेदेखि धरानकी ४० वर्षीया धनमाया योङहाङसम्मले प्रतिस्पर्धा गरिरहेका छन् ।

‘पछिल्लो समय पूर्वका महिला खेलाडीहरू ब्याडमिन्टन खेलप्रति आकर्षित भएका छन्' पूर्वराष्ट्रिय खेलाडी रकम सुब्बाले भने ‘ब्याडमिन्टनका प्रशिक्षिकहरू पर्याप्त भइदिने हो भने राम्रा खेलाडी उत्पादन हुन्थे ।'

पूर्वाञ्चलका ब्याडमिन्टन खेलाडी बिन्दा सिम्खडा, पूजा श्रेष्ठ, सुमिना श्रेष्ठ, सरादेवी तामाङ, नङ्सलादेवी तामाङ राष्ट्रिय च्याम्पियन बनिसकेका छन् । अन्नपुर्णपोष्ट